सुत्केरी आमाहरु स्याहार्दै धनकुटाको चौबिसे गाउँपालिका !
नारायण कुमार राई, धनकुटा खबर । पोषणको अभावमा बालक तथा आमाको मृत्यु हुन नदिन चौबिसे गाउँपालिकाले धनकुटाले आमालाई खाना शिशुलाई नाना कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाले शुरुवाती चरणमा ३ परिवारलाई आमालाई खाना र नवजात शिशुलाई नाना वितरण गरेर यो अभियान शुरु गरिएको छ ।
गाउँपालिका–१ का सन्तकुमार मगर र सबिता मगर, वडा नं. २ को टंक लिम्बू र बालकुमारी लिम्बू, शेरबहादुर लिम्बू र संगिता लिम्बू, सुरेन्द्र लिम्बू र अनिता लिम्बू, वडा नं. ३ का शिव तामाङ र शुभमाया तामाङ, बुद्धिराज याखा र उषा याखाको परिवारमा पुगेर खाद्यन्न र लत्ता कपडा दिईएको हो ।
गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, सम्बन्धित वडाका वडाध्यक्षले सुत्केरी आमालाई चामल, तेल, मसला, सेनिटेरी प्याड र नवजात शिशुलाई न्यानो कपडा हस्तारण गरेका छन् ।

सो अभियान अन्तर्गत सुत्केरी आमालाई खाना शिशुलाई नाना वितरण साथै स्वास्थ्यकर्मीहरुले सुत्केरी महिला र उनको परिवारलाई प्रत्यक्ष भेटेर सुत्केरी महिला र बच्चाको स्वास्थ्यको विषयमा ध्यान दिनु पर्ने विषयमा सहजीकरण गरेका थिए ।
अभियानले मातृशिशु मृत्यूदरलाई घटाउनुको साथै सुत्केरी महिलाहरुलाई स्वास्थ्य जनचेतना जगाउने उद्देश्यले पनि आमालाई खाना शिशुलाई नाना कार्यक्रम शुरु गरिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए ।

गाउँपालिकाले गरेको थोरै सहयोगबाट उनीहरुलाई केही राहत पनि पुग्न र स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यो अभियान शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् । गाउँपालिकाले आफ्ना सबै ८ वडाहरुमा शुरु गरेको यस कार्यक्रम आगामी बर्षहरुमा पनि निरन्तर रहनेछ ।


