किशोरीहरुको खोजी जारी, अपहरणको आशङ्का

महोत्तरी,महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो ।

धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन सातै जनाको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले गरिरहेका छन् । अहिलेसम्म कुनै सुराकी पाउन नसकिएकाले उनीहरु ललाइफकाइमा परेर अपहरणकारीको कब्जामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । सम्पर्कविहीनको खोजीमा ठाउँ–ठाउँमा प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएका सातैजना हाँसीखुशी घाँस काट्न मङ्गलबार दिउँसो १ बजेतिर घरबाट समूहमै निस्केका अभिभावकको भनाइ छ । “सबै हाँस्दै निस्केका थिए, साँझ घर नफर्केपछि चिन्ता बढ्यो”, अस्मिताका पिता बद्री पासवानले भन्नुभयो, “घरमा कुनै भनाभन वा रिसाउने केही भएको थिएन ।”

सम्पर्कविहीन भएका सातमध्ये सिरहाको कर्जन्हा घर भई मावल आएकी रञ्जनाबाहेक सबै धर्मपुरवासी हुन् । तीमध्ये नगिना; कृष्णा पासवान, सीमा; देवनन्दन पासवान, ज्योति; बिसुन पासवान, रिया; ज्ञानकुमार पासवान र रचना; अरविन्द पासवानका छोरी भएको खुलेको छ । सात छोरीचेली समूहमा एकैपटक हराएपछि धर्मपुरको दलित बस्तीमा रुवावासी मच्चिएको छ । हराइरहेकामध्ये अस्मिताले यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन आवेदन गरेकी पिता बद्रीको भनाइ छ ।

“घरको गरिबी छोरीले बुझेकी थिई, जागिर गरेर पाल्छु भन्थी”, बद्रीले गहभरि आँसु पार्दै भन्नुभयो, “त्यही छोरी हराउँदा अब मन राख्ने ठाउँ नै देखिन्न ।” धर्मपुरको दलित बस्तीका अभिभावक आफ्ना छोरीचेलीको खोजी गरिदिन अहिले सान्त्वना दिन पुग्ने सबैसँग हात जोडेर अनुनयविनय गरिरहेका देखिन्छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।