नगरपालिकाकाले आफ्नो नगर गान

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिकाकाले आफ्नो नगर गान र प्रतीक चिह्न (लोगो) को एक साताअघि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई उद्घाटन गर्न लगायो । नगर जनप्रतिनिधिले निर्वाचित भएको चार वर्षपछि नगर गान र लोगो बनाएका हुन् ।

बनेपा नगरले आफ्नो गीतमा सबै वडाको भूगोल, मठमन्दिर, धर्म–सांस्कृतिक परम्परा, वातावरण, प्राकृतिक सौन्दर्य, व्यापारिक केन्द्र तथा कृषि–सिँचाइलाई समेटिएको र लोगोमा नगरको चर्चित धरोहर चण्डेश्वरी मन्दिरलाई समावेश गराएको छ ।

नगरको ४० औँ दिवसमा गान र लोगो सार्वजनिक गरिएको नगर उपप्रमुख रेखा दाहालले बताउनुभयो । उहाँका अनुसार नगरका कार्यक्रममा नगर गान बजाइनेछ । तीन मिनेट ५४ सेकेन्डको उक्त नगर गानबाट बनेपाको पहिचान फराकिलो हुने विश्वास लिइएको छ । “नगर गानको भिडियो बनाएर बनेपालाई थप प्रचारमा ल्याइनेछ”, दाहालले भन्नुभयो ।

हालसम्म काभ्रेपलाञ्चोकका तीन स्थानीय तहले आफ्नो नगर गान बनाएका छन् । नमोबुद्धले तीन वर्षअघि नै आफ्नै नगर गीत बनाएको थियो । धुलिखेलले भने १० वर्षअघि नै नगर–गीत बनाई बजाउँदै आएको छ । पाँचखालले भने आफ्नै गान बनाउने तयारीमा जुटेको जनाएको छ । १३ स्थानीय तह रहेको काभ्रेपलाञ्चोकको हालसम्म बनेपासहित तीन नगरले नगर गान बनाएका हुन् ।

विगत तीन वर्षदेखि नमोबुद्ध नगरपालिकाले आफ्ना हरेक कार्यक्रमको शुरुआतमा आफ्नो नगर गान बजाउँछ । छ मिनेट २५ सेकेण्डको नगर गान (भिडियो)मा समेत नगरवासी पौरखी भएकाले आफ्नो नगर आफैँ बनाउने र शुद्ध मन भएका नगरवासीले सत्यपूर्वक शिक्षा, स्वास्थ्य, सुशासनमा रही स्थानीय कला, धर्म र संस्कृतिलाई गहना बनाएको छ ।

नगर प्रमुखमा पदबहाली पछि नगर गानको आवश्यकता महसुस गरी शुरुमै निर्माण गरिएको नगरप्रमुख टङ्कप्रसाद शर्माले बताउनुभयो । “ऐतिहासिक दाप्चा शहर र ऐतिहासिक नमोबुद्ध पर्यटकीयस्थल एवं प्रकृतिको धनी छौँ हामी, यी सबैलाई नगरगानमा समेटेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार ऐतिहासिक पलाञ्चोक भगवतीको माइतीका रूपमा परिचित देवीस्थान र धार्मिक दृष्टिले परिचित काँसीखण्ड पनि यही नगरमा पर्दछ । नमोबुद्धको नगर गान यु–ट्युबमा पनि ‘अपलोड’ गरिएको छ ।

धुलिखेल नगरको चार मिनेटको नगर गानमा नगर क्षेत्रभित्रका ऐतिहासिकस्थल र पर्यटकीयस्थललाई समेटिएको छ । “हामीले हाम्रो कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करिब नौ वर्षदेखि यो नगर गान बजाउँदै आएका छौँ”, नगर प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भन्नुभयो ।

उहाँले नगर गानलाई केही परिमार्जित गर्न नगरवासीबाटै लिखितरूपमा सुझाव आएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रस्ताव आउने क्रम जारी छ, केही समयपछि ‘सर्टिङ’ गरी छनोटको प्रक्रियामा जानेछौँ ।”

धुलिखेल आफैँमा पर्यटकीय नगर हो । धुलिखेलको प्राकृतिक सुन्दरता, उत्तरतर्फका हिमालय पर्वत शृङ्खला सजिलै नियाल्न सकिन्छ भने र सुविधाजनक होटल तथा मनोरम दृश्यका कारण निकै चर्चित बनेको र यी विषयलाई परिमार्जित गीतमा थप समेटिने श्रेष्ठले बताउनुभयो ।

पाँचखाल नपाले पनि हाल आफ्नै नगर गान बनाउने योजना बनाएको छ । “गतवर्ष बनाउने योजनामा थियौँ, कोरोनालगायत कारण त्यता ध्यान दिन पाइएन, अब नगर गान बनाउने विषयमा छलफलमा छौँ”, नगर उपप्रमुख लक्ष्मी दनुवारले भन्नुभयो । उहाँका अनुसार स्थानीय धार्मिकस्थल, पर्यटकीयस्थल र कृषिलाई जोड दिएर नगर गान (अडियो÷भिडियो) निर्माण गरिनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।