२७१ बालबालिका सं,क्रमित

११ वर्षीय एक बालक अघिल्लो आइतबार शि,थिल अवस्थामा कान्ति बाल अस्पतालको पीआईसीयूमा भर्ना भए । कान्ति ल्याउनुअघि निजी प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको थियो ।

कान्तिमा पुनः पीसीआर गराउँदा पोजिटिभ देखियो । ती बालकलाई थलिनुअघि ज्वरो आउनुका साथै झाडाबान्ता भएको थियो । उपचारकै क्रममा बालकको शनिबार मृ त्यु भयो, ‘उपचारका सबै विधि अपनाउँदा पनि बचाउन सकिएन,’ कान्तिका बालरोग विशेषज्ञ एवं पीआईसीयू विभाग प्रमुख डा. प्रकाश जोशीले भने ।

कान्तिमा कोरोना संक्रमित तीन बालबालिकालाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ । उनीहरू सबैमा लक्षण देखिएको छ । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा रहेका २६ जना संक्रमितमध्ये चार जना बालबालिका छन् । अस्पतालका कोरोना फोकल पर्सन डा. प्रविन नेपालका अनुसार त्यहाँ भर्ना भएका सबैमा लक्षण छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन् ।

त्यस्तै, शनिबार थपिएका ३ सय ३७ जना संक्रमितमा २७ जना बालबालिका थिए । निर्देशक डा. पौडेलले दुई सातायता बालबालिकामा संक्रमण बढेको बताए । ‘यो राम्रो संकेत होइन । यसलाई रोक्न अभिभावक र शिक्षक सबैले बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउनुपर्छ ।’ चैत १४ देखि आइतबारसम्म ३ हजार ४ सय ५ जनालाई कोरोना संक्रमण देखिएकामा १८ वर्षभन्दा मुनिका बालबालिका मात्र २ सय ७१ जना अर्थात् ७.९५ प्रतिशत छन् । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार चैत २६ मा संक्रमित देखिएमध्ये १५.३६ प्रतिशत बालबालिका थिए । त्यो दिन ३ सय ३३ जनालाई संक्रमण देखिएको थियो । संक्रमण पुष्टिमध्ये चैत २१ मा ८.८९, २२ मा ७.९७, २३ मा ६.०२, २४ मा १० प्रतिशत बालबालिका छन् ।

संक्रमित बालबालिकाको हिस्सा चैत २५ मा ८.३९ प्रतिशत रहेकामा चैत २६ मा बढेर १५.३६ प्रतिशत पुग्यो । यस्तै, चैत २७ मा ११.८० र चैत २८ मा संक्रमितमध्ये ८.३ प्रतिशत बालबालिका रहेको अधिकारीले बताए । आइतबार भने संक्रमित बालबालिकाको हिस्सा ५.९४ प्रतिशत छ । विद्यालयमा स्वास्थ्य मापदण्ड पालना नगराउँदा बालबालिकामा संक्रमण बढेको विशेषज्ञ बताउँछन् । नियमित रूपमा मास्क र फेससिल्ड लगाए, हात धोए केही हदसम्म संक्रमण फैलिनबाट रोकिने टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए ।

ईडीसीडीका निर्देशक डा. पौडेलले आइतबार २–३ वर्षका बालबालिकामा समेत संक्रमण देखिएको बताए । ‘लक्षण भएका, शल्यक्रिया गर्नुपर्ने र विदेश जाने व्यक्तिको पीसीआर गर्दा कोरोना देखिने गरेको छ,’ उनले भने, ‘परीक्षणको दायरा बढाउने हो भने संक्रमित अझै बढ्छ ।’ संक्रमित बालबालिका सबैभन्दा बढी काठमाडौं, भक्तपुर र ललितपुरका छन् । उनका अनुसार चैत १२ देखि २९ सम्म संक्रमित बालबालिकामध्ये प्रदेश १ र २ मा १३–१३ र वाग्मतीमा १ सय ६६ जना छन् ।

गण्डकीमा ५५, लुम्बिनीमा १७, कर्णालीमा ३ र सुदूरपश्चिममा ७ जना बालबालिकालाई संक्रमण देखिएको छ । ईडीसीडीले कोरोना पोजिटिभ देखिएकाको नमुनालाई पुनः परीक्षण गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि ल्याउने गरेको छ ।

परीक्षणका क्रममा यूके भेरिएन्ट एसजिन नेगेटिभ भएको संक्रमित अत्यधिक भेटिएको डा. पौडेलले बताए । ‘संक्रमितमध्ये ६० प्रतिशतमा यूके भेरिएन्ट देखिएको छ,’ उनले भने, ‘यूके भेरिएन्ट भएका संक्रमितमा ११ देखि २० वर्ष उमेर समूहका मात्रै २२ प्रतिशत छन् । ४ प्रतिशत त १० वर्ष मुनिका बालबालिका छन् ।’ उनका अनुसार पोखरामा भेटिएका संक्रमितमध्ये ५० प्रतिशतमा यूके भेरिएन्टको एसजिन नेगेटिभ छ । यूके भेरिएन्ट भेटिएका संक्रमितमध्ये १० वर्षभन्दा कम उमेरका ६ प्रतिशत छन् । डा. पौडेलका अनुसार काठमाडौं उपत्यकामा एसजिन नेगेटिभ भएका १० देखि २० वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका छन् । यूके भेरिएन्ट भएका १० वर्षभन्दा कम उमेर समूहका ६ प्रतिशत छन् ।

कान्ति बाल अस्पतालका प्रमुख बालरोग विशेष एवं पीआईसीयूका प्रमुख डा. जोशीले ५ दिनसम्म लगातार १ सय ४ डिग्री सेल्सियस ज्वरो आउनुका साथै झाडाबान्ता र खोकी लागेर बिस्तारै सुस्ताउँदै गए कोरोनाको लक्षण हुन सक्ने बताए । उनका अनुसार कतिपयलाई रक्तस्राव पनि हुन्छ । ‘शरीरका विभिन्न भागमा नीलो दाग देखिन्छ,’ डा. पौडेलले भने, ‘नाक वा मुखबाट रगतसमेत जाने समस्या भए कोरोना लागेको हुन सक्छ ।’

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. बाँस्तोलाले सिटामोल दिँदा पनि ज्वरो आइरहे बालबालिकालाई जँचाउन आग्रह गरे । ईडीसीडी प्रमुख डा. पौडेलले लक्षण भएकाको पीसीआर निःशुल्क हुने भएकाले समस्या जटिल हुनुअघि नै जँचाउनुपर्ने बताए । ‘मौसमी रुघाखोकी भनेर घरमै नबसौं,’ उनले भने ।

बालबालिकामा लक्षणबिना पनि कोरोना देखिने भएकाले संक्रमण फैलिने दर अझ बढ्न सक्ने उनले बताए । धेरैमा छिटो फैलिने यूके भेरिएन्ट एसजिन नेगेटिभ पाइएकाले पनि जोखिम उच्च रहेको उनको भनाइ छ । पोजिटिभ देखिएका ७६ जनाको नमुना पुनः परीक्षण गर्दा ४८ र १ सय ७६ जनाको पुनः परीक्षण गर्दा १ सय ५ जनाको एसजिन नेगेटिभ देखिएको उनले बताए । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।