तीनमुखे पुल निर्माण शुरू
सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ ।
भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्व राख्ने गरी सरकारले विशेष पुल निर्माण गर्न थालेको हो । त्यसलाई सरकारले विशिष्टिकृत पुलको नामकरण गरेको छ । त्यस्ता पुल पर्यटकीय पूर्वाधारका लागि समेत उपयोगी हुनेछन् ।
स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज पार्दै धार्मिक र पर्यटकीय दृष्टिले समेत महत्व राख्ने गरी सरकारले विशिष्टिकृत पुल निर्माण गर्न लागेको बताए ।
उहाँका अनुसार स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ । यस आर्थिक वर्षभित्रै उक्त पुल निर्माण गरिसक्ने गरी स्थानीय पूर्वाधार विभागले काम धमाधम अगाडि बढाइरहेको छ ।
चितवनको माडीमा रहेकोे त्रिवेणीधाम वाल्मीकि आश्रममा नेपालकै भूभाग हुँदै जान सकिने गरी झोलुङ्गे पुल निर्माण भइरहेको छ । ४८२ मिटर लामो झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ । सो क्षेत्रमा झोलुङ्गे पुलको अभावमा वाल्मीकि आश्रममा जान भारतको बाटो हुँदै जानुपर्ने अवस्था थियो।
“नेपालको धाममा नेपालकै बाटो हुँदै जान सकिने गरी सरकारले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो”, विभागका महानिर्देशक मरहठ्ठाले भने, “सरकारले अहिले निर्माण गर्न लागेका पुल आवागमनमा सहज गर्नुका साथै धार्मिक र पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी निर्माण गरिरहेको छ ।” अहिले उक्त पुलको मेसिनरी र संरचनाको काम सकिएर टावर जोड्ने काम भइरहेको छ । यस आर्थिक वर्षभित्रमै पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको विभागले जनाएको छ ।
त्यस्तै नारायणी नदीपारि सुस्तामा नेपालकै सबैभन्दा लामो एक हजार ५७१ मिटर लामो झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ । अहिले उक्त क्षेत्रमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । आगामी वर्षको फागुनभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवसायीले काम गरिरहेका छन् । सो क्षेत्रमा पुलको अभावमा डुङ्गा चढेर आवतजावत गर्नुपर्ने अवस्था थियो । झोलुङ्गे पुल निर्माण भएपछि डुङ्गा चढेर आवतजावत गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
विभागका उपमहानिर्देशक अशोककुमार शाहले अब सरकारले निर्माण गर्ने पुल आवागमनका लागि मात्र नभई पर्यटकीय दृष्टिले समेत प्रभावकारी हुने गरी निर्माण गर्न लागेको बताए । उनका अनुसार पहिला ओल्लो डाँडाबाट पल्लो डाँडामा जान र नदी तर्न मात्र पुल निर्माण गर्ने गरिए पनि अहिले निर्माण भएका पुलले आवागमनका साथै पर्यटकीय दृष्टिले समेत महत्व राख्ने गरी पुल निर्माण भइरहेका छन् ।
देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण गरिरहेको र चालू आर्थिक वर्षमा सरकारले छ सयवटा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम गरिरहेको विभागले जनाएको छ ।
छ सयवटा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने सङ्घीय सरकारले ९० वटा, प्रदेश सरकारले १६ वटा र स्थानीय तहले ४९४ वटा पुल निर्माण गर्नुपर्नेछ । सोहीअनुसार अहिलेसम्म करिब ३०० वटा पुल निर्माण भइसकेको विभागले जनाएको छ । गोरखापत्र दैनिकमा


