निषेधाज्ञाका समयमा छापिएन चालक अनुमतिपत्र

सञ्चिता घिमिरे काठमाडौँ, २० वैशाख (रासस) : गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन ।

बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँकी रहेका कार्डको सङ्ख्या १० देखि १५ हजार मात्रै रहेकाले अनुमतिपत्र छाप्न नसकिएको हो । अहिले पनि विभागले झण्डै तीन लाख अनुमतिपत्र छाप्न बाँकी रहेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । उहाँका अनुसार कार्ड खरीदका लागि प्रक्रिया अघि बढाइएको भए पनि आइपुगेको छैन ।

विभागले केही समय पहिले फ्रान्सको एउटा कम्पनीमार्फत १४ लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको थियो । निर्धारित समयअनुसार अहिलेसम्म कार्ड आइसक्नुपर्ने प्रवक्ता डा भुसालले बताउनुभयो । भारतीय पद्धतिमा आधारित हुनुपर्नेमा केही प्राविधिक समस्या आएकाले ढिलाइ भएको हो । उहाँले भन्नुभयो, “अबको एकदुई महिनामा आइपुग्ने देखिएको छ ।”

अहिले विभागले छाप्न बाँकी तीन लाखमध्ये झण्डै आधा डेढ लाख नवीकरण गरिएका अनुमतिपत्र र बाँकी आधा अहिले अनुमतिपत्रको परीक्षा उत्तीर्ण भएका रहेको विभागले जनाएको छ । गत आवमा कोभिड–१९ का कारण यातायात व्यवस्था कार्यालयले नवीकरणलाई निरन्तरता दिए पनि नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेका थिए । विभागले गत पुसदेखि अनलाइन माध्यमबाट आवेदन लिइरहेको छ । सोही आवेदनका आधारमा प्रदेशअन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन गरेको छ ।

पुसदेखि यता अनुमतिपत्रको परीक्षा पास गर्नेको सङ्ख्या डेढ लाख पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुसयता अनुमतिपत्रको परीक्षा पास गरेकाहरुको छाप्न बाँकी छ ।” विभागले दुई वर्षपहिले खरीद गरेको कार्ड सकिँदै जाँदा दुई महिना पहिलेदेखि अत्यावश्यकबाहेक अरू अनुमतिपत्र छपाइ नगरेको प्रवक्ता डा भुसालले बताउनुभयो । रोजगारी वा अध्ययनका लागि विदेश जानका लागि मात्रै अनुमतिपत्र छपाइ हुँदै आएको छ । उहाँले भन्नुभयो, “प्रक्रियामा रहेका कार्ड आएपछि मात्रै सबै छपाइ गर्न सकिनेछ ।”

सरकारले गत पुसमा अनलाइन फारम शुरु गरेसँगै झण्डै पाँच लाखले आवेदन दिइसकेको विभागले जनाएको छ । अहिलेसम्म डेढ लाखले मात्रै लिखित र प्रयोगात्मक गरी दुवै परीक्षा उत्तीर्ण गरेका छन् । लिखित उत्तीर्ण गरेर प्रयोगात्मक परीक्षा उत्तीर्ण नहुने सेवाग्राहीका लागि विभागले दुई पटकसम्म मौका दिने गरेको छ । फारम भर्ने पाँच लाखमध्ये कतिपय परीक्षामा सामेल हुन बाँकी भएको र कति प्रयोगात्मक परीक्षा उत्तीर्ण नभएको विभागले जनाएको छ ।

बन्दाबन्दीको समयमा अरू कामको चाप कम हुने भएकाले विभागले गत वर्ष तीन सिफ्टमा गरी अनुमतिपत्र छापेको थियो । अहिले निषेधाज्ञाको समयमा त्यसको राम्रो सम्भावना भए पनि कार्डको अभावका कारण गर्न नसकिएको हो । संविधानअनुसार चालक अनुमतिपत्रको जिम्मेवारी प्रदेश सरकारको हो । पहिले विभागअन्तर्गत रहेका यातायात कार्यालयहरु तीन वर्षपहिले नै प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले परीक्षा सञ्चालन, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएका छन् । त्यसको सफ्टवेयर र छपाइको काम भने विभागले गर्दै आएको छ । कार्यालय र विभागबीच समन्वय नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । गत आवसम्म विभागले झण्डै आठ लाखभन्दा बढी चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । विभागले देशभरको अनुमतिपत्र छपाइ गर्नुपर्ने भए पनि साना क्षमताको उपकरणका कारण छपाइ सुस्त थियो ।

झण्डै डेढ वर्षपहिले विभागले ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र कार्ड खरीद गरेको थियो । अहिले कार्ड समयमा नआएकाले मात्रै सेवाग्राहीले तत्काल अनुमतिपत्र नपाएको विभागले बताउँदै आएको छ । कार्ड आएपछि विभागले एकै दिनमा झण्डै १० हजारसम्म अनुमतिपत्र छाप्न सक्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।