भदौमा पार्टीको महाधिवेशन हुनेमा ढुक्क हुन सभापति देउवाद्वारा आग्रह

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गर्नुभएको छ ।

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।

उहाँले आज वक्तव्यमार्फत कोभिड–१९ को विषम परिस्थितिमा पनि निर्धारित मिति आगामी भदौभित्र पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसमा आफू पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको बताउनुभएको छ ।

महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको आफूले सुनेको र पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति उचित नभएको उहाँले उल्लेख गर्नुभएको छ ।

“महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनुपर्दछ । हामीसँग अब बढी समय छैन ।

असार र साउन दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ”, विज्ञप्तिमा उल्लेख छ । त्यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको अवगत गराउँदै उहाँले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने बताउनुभएको छ ।

सभापति देउवाले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमिति, स्थानीय तहका पदाधिकारी तथा सदस्य, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य, विदेशस्थित जनसम्पर्क समितिका सदस्यलाई कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्न दत्तचित्त भई लाग्न आह्वान गर्नुभएको छ । उहाँले कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गर्नुभएको छ ।

साथै उहाँले कोभिड–१९ को संक्रमणबाट निधन हुनुभएका सबैको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै संक्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

संक्रमित सबैलाई उच्च मनोबल राखी चिकित्सकको रायअनुसार रहन÷बस्न अनुरोध गर्दै सभापति देउवाले सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेका कारण अहिलेको अवस्था सृजना भएको आरोप समेत लगाउनुभएको छ । —

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।