कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य
काठमाडौँ, असार ३१ । कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गरेका हुन्।
बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।
सरकारको सिफारिसमा प्रदेश प्रमुख कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम चालू अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को लगातारको अवरोधका कारण प्रदेशसभाका बजेट अधिवेशन प्रभावित भएको थियो।
प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गरे पनि त्यसयताका बैठक एमाले अवरोधले कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगित हुँदै आएका थिए। प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा छ।
एमाले प्रदेशसभा सदस्य पद्मा खड्काले प्रदेशसभामा विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा एक तिहाइ बजेटसहित पेश्की खर्च विधेयक ल्याउन सकिने संवैधानिक प्रावधान छँदाछँदै सरकार निरङ्कुश ढङ्गले अघि बढेको आरोप लागाइन्।
सर्वोच्च अदालतको आदेशविपरीत आफ्ना सदस्यलाई कर्णाली सरकारले सत्तापक्ष बनाएको भन्दै उनहिरुलाई मन्त्री पदबाट हटाउनुपर्ने माग एमालेको छ। नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस गठबन्धनको सरकारमा हाल एमालेका तीनजना मन्त्री छन्। रासस


