साल्पासिलिछो गाउँपालिकालाई चिराईतो स्रोत केन्द्र बनाउँ

– जीवनप्रसाद राई ।
भौगोलिक विस्तारका आधारमा भोजपुर जिल्लाको दोस्रो ठुलो स्थानीय तह साल्पासिलिछो गाउँपालिकाको क्षेत्रफल १९३.३३ वर्ग किलोमिटर रहेको छ भने जनसङ्ख्या १३,१११ मात्रै छ । ठुलो भूभागमा थोरै जनसङ्ख्याको अर्थ हो न्यून जनघनत्व । भोजपुरसहित सङ्खुवासभा, खोटाङ र सोलुखुम्बु जिल्लाको सङ्गम रहेको यस गाउँपालिकाको पूर्वी सिमाना सङ्खुवासभा र षडानन्द नगरपालिकासँग जोडिएको छ भने पश्चिममा खोटाङ जिल्ला पर्छ । उत्तरमा सोलुखुम्बु जिल्ला र सङ्खुवासभा जिल्ला र दक्षिणमा षडानन्द नगरपालिका तथा टेम्केमैयुम गाउँपालिका पर्छन् । भोजपुर जिल्लाकै सबैभन्दा उच्च भूभागमा पर्ने साल्पासिलिछो डाँडा समुद्र सतहदेखि ४,४०० मिटर उचाइमा रहेको छ भने होचो भूभाग ६५० मिटर उचाइमा छ । यस गाउँपालिकाको धेरैजसो भूभागमा चिसो तथा लेकाली हावापानी पाइने हुँदा शुष्क वातावरण उत्पादन सहज हुने बालीनाली र कृषि क्रियाकलाप यस ठाउँका लागि उपयुक्त हुन्छ । चिसो ठाउँ, प्रशस्त खाली ठाउँ, लेकाली हावापानीका कारण यहाँ जडीबुटी खेतीले प्राथमिकता पाउनुपर्छ । त्यसमा पनि चिराइतो खेती गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

परिचय
विश्वमै उच्च महङ्खव पाएको जडीबुटी चिराइतो नेपालका धेरैजसो ठाउँमा जङ्गली अवस्थामै भेटिन्छ । पहिले जङ्गलबाट सङ्कलन गरिने चिराइतो पछिल्लो समय भने पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटा, सोलुखुम्बु, रसुवा आदि जिल्लाहरुमा व्यावसायिक रुपमा पनि उत्पादन हुन थालेको छ । चिराइतोको अङ्ग्रेजी नाम Chiretta हो भने वैज्ञानिक नाम Swertia chirayita (Roxb.ex Fleming Karst.) र परिवारचाहिँ Gentianaceae हो । यसलाई संस्कृतमा किराततिक्त, गुरूङ भाषामा टेन्टो, तामाङमा तिम्दा र राईहरुले खुम्ली भन्छन । चिराइतोको व्यावसायिक खेतीका लागि लेकाली खुलाचौर सबैभन्दा उपयुक्त ठाउँ हुन् भने समुद्र सतहबाट १२०० देखि ३००० मिटर उचाइको शुष्क हावापानी उपयुक्त वातावरण मानिन्छ ।

चिराइतो नै किन ?
साल्पासिलिछो गाउँपालिकाको भौगोलिक अवस्था, हावापानी, भू–उत्पादन स्तर आदिको गहिरिएर अध्ययन गर्दा यहाँ चिराइतो खेती गरे सबभन्दा बढी आम्दानी लिन सकिन्छ । यही कारण यस गाउँपालिकालाई चिराइतोको व्यावसायिक खेतीका लागि सिफारिस गरिएको हो । साल्पासिलिछो गाउँपालिकाले आफ्नो क्षेत्रलाई चिराइतोको पकेट क्षेत्र घोषणा गरेर व्यावसायिक खेती गरे एकातिर गाउँपालिकालाई उच्च आम्दानी हुन्छ भने अर्कोतिर ज्यादै उपयोगी जडीबुटी चिराइतोको संरक्षण, संवर्धन र विकास हुन्छ । हुन त चिराइतो भारतका केही ठाउँमा पाइन्छ तर यो नेपालको भौलिक वनस्पति हो ।

चिराइतो परम्परादेखि नै उपयोगी जडीबुटी रुपमा प्रचलित वनस्पति हो । तर, यसबारे सरकारले उचित ध्यान दिएर काम गर्न सकेको छैन । साल्पासिलिछो गाउँपालिकाले आफ्नो क्षेत्रलाई यसैको पकेट बनाई काम गरे गाउँपालिकाले मात्र फाइदा लिने होइन, सिङ्गो देशले प्रशस्त फाइदा लिन सक्छ र चिराइतोको पनि उच्च सम्मान हुन्छ ।

चिराइतोका फाइदा
मानव स्वास्थ्यका लागि अति उपयोगी चिराइतोले कलेजो संरक्षणमा विशेष भूमिका खेल्छ । खासमा रक्सी खाने र खाइ रहने मानिसहरुका लागि यो एकदमै उपयोगी जडीबुटी मानिन्छ । सही मात्रामा यसको नियमित सेवन गरेमा क्यान्सरबाट बचाउने क्षमता राख्छ । यसको रस खानाले ज्वरो निको हुन्छ । ज्वरोको औषधि चिराइतोबाट बनाउने गरिएको छ । छालाका रोगीहरुका लागि यसबाट बनेका औषधिहरु राम्रो मानिन्छ । पेटका रोगीहरुका लागि चिराइतो निकै फाइदाजनक औषधि हो । रक्सी, ब्रान्डी, ह्विस्कीहरुमा चिराइतोको सही मात्र कम्तीमा ८ घण्टा भिजाई खाने गरेमा रक्त सञ्चारमा फाइदा हुन्छ, रगत सफा राख्नमा प्रभावकारी भूमिका निर्वाह गर्ने विज्ञहरुको भनाइ छ । यसबाट महिलामा हुने रक्तअल्पताबाट मुक्ति मिल्छ । मधुमेहका रोगीहरुका लागि चिराइतो निकै राम्रो औषधि हो ।

गाउँपालिकाको भूमिका
चिराइतो आफैमा गुणकारी वनस्पति हो । यसबाट धेरै प्रकारका औषधिहरु बनाउन सकिन्छ । तर, यसका लागि उचित लगानी र प्रशोधन उद्योग स्थापना गरिनुपर्छ । प्रशोधनका लागि उचित सिप र क्षमता भएका प्राविधिकहरु आवश्यकता हुन्छन् । त्यसका लागि पनि सरकारले उपयुक्त नीति अवलम्बन गरी प्रविधि विकास र प्राविधिक उत्पादन गर्नुपर्छ । त्यसको नेतृत्व साल्पासिलिछो गाउँपालिकाले गर्न सक्छ ।

साल्पासिलिछो गाउँपालिकाले आफ्नो क्षेत्रलाई चिराइतो पकेट क्षेत्र घोषणा गरी यसको व्यावसायिक खेतीका लागि उचित वातावरण तयारी गरिदिनुपर्छ । चिराइतोको पकेट क्षेत्र घोषणा गर्नेबित्तिकै यो कार्यक्रमलाई निम्नअनुसार निरन्तर अगि बढाउनुपर्छ ।
नर्सरी स्थापना ः चिराइतोको बिउ सिधै छरेर खेती गर्न सकिन्छ तर उच्च फाइदा तथा गुणस्तरीय उत्पादनका लागि नर्सरीमा उमारेका बिरूवा रोप्नु आवश्यक छ । त्यसैले सर्वप्रथम नर्सरीमा बिरूवा उमार्नुपर्छ यथेष्ट मात्रामा । त्यसभन्दा पहिले यसको राम्रो स्रोत बिउ सङ्कलन गरिनुपर्छ । चिराइतोका धेरै जातमध्ये नेपालमा २७ जात उपलब्ध रहेको बताइन्छ भने ९ जातको चिराइतो नेपालमा कारोबार हुँदै आएको छ । त्यसमध्ये पनि स्वेर्सिया सबैभन्दा बढी बिक्री हुने गरेको पाइन्छ । यस गाउँपालिकाले पनि स्वेर्सिया जातकै चिराइतो खेतीमा प्रथामिकता दिनु उपयुक्त हुन्छ ।

साइनबोर्डहरु राख्ने ः चिराइतो र यसको खेतीबारे प्रस्ट उल्लेख गरिएका साइनबोर्डहरु ठाउँठाउँमा राखिनुपर्छ । चिराइतोका विभिन्न जात, यसका खेती गर्ने तरिकाहरु, यसलाई आवश्यक पर्ने मलजल तथा यसबाट हुने हुने अनेक फाइदाहरुबारे समेत सार्वजनिक ठाउँ, चल्तीका बाटाहरु र प्रमुख नाकाहरुमा साइनबोर्ड राखिनुपर्छ ।
सचेतना कार्यक्रम ः चिराइतो खेती किन गर्ने ? यसबाट आमगाउँपालिकावासीलाई केकस्ता फाइदा हुन्छन् ? विषयमा गाउँपालिकाले निरन्तर सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । यसको प्रशोधन उद्योगबारे तालिम तथा भ्रमणहरुसमेत गराइनुपर्छ । यसै गरी यसको खेती गर्ने विषयमा आवश्यक तालिम, गोष्ठीहरु, अध्ययन भ्रमण जस्ता कार्य निरन्तर सञ्चालन गरिनुपर्छ ।

सूचना केन्द्र स्थापना ः चिराइतो नेपालको मौलिक जडीबुटी हो, यसको खेती पनि हुने गरेको छ तर यसको सूचना केन्द्र कहीँ, कतै स्थापना भएको छैन । चिराइतोको नाम धेरैले सुनेका छन् र यो जडीबुटी हो भन्ने समेत धेरैलाई थाहा छ तर यसबारे वास्तविक जानकारी धेरैलाई छैन । त्यसैले यसबारे सर्वसाधारण सबैले थाहा पाउन समग्र जानकारीका लागि सरकारी सूचना केन्द्र आवश्यक छ । पकेट क्षेत्र घोषणासँगै चिराइतोबारे सम्पूर्ण जानकारी सरकारको तर्पmबाट साल्पासिलिछो गाउँपालिकाले सूचना केन्द्र स्थापना गर्नुपर्छ । गुणस्तर कायम गर्न नसक्ता र गुणस्तरीय जातको चिराइतो उत्पादन हुन नसक्ता पछिल्लो समय यसको मूल्यमा तलमाथि हुने गरेको छ । हुन त यसको खेती नेपालमा मात्र होइन, चीन र भारत लगायत अन्य केही मुलुकमा हुने गरेको छ । तर, यसको माग भने विश्वका सबै देशमा छ । त्यसैले यसको प्रवर्धन र उच्च उत्पादनका लागि नेपालमा भोजपुर जिल्लामा रहेको साल्पासिचिछो गाउँपालिकाले सुविधायुक्त सूचना केन्द्र स्थापना गरी काम अगाडि बढाए निकै फाइदा हुनेछ । सूचना केन्द्रमा यसको खेती गर्ने, प्रशोधन गर्ने तथा यसको विविध प्रविधि समेटिएका पुस्तक, पुस्तिका, पत्रपत्रिका, चलचित्र, वृत्तचित्र, ब्रसर आदि उत्पादन र प्रकाशन गरी जानकारी उपलब्ध गराउनुपर्छ । साथै यसको नमुखा खेती प्रदर्शन गरी विभिन्न अवस्थाका फोटाहरुसमेत राखिनुपर्छ । समग्रमा सूचना केन्द्रलाई आकर्षणको विषय बनाई प्रभावकारी रुपमा काम अगाडि बढाउनुपर्छ ।

प्रशोधन केन्द्र स्थापना ः चिराइतो जति धेरै उत्पादन गरिए पनि कच्चा चिराइतो निकासीबाट मात्र खासै फाइदा लिन सकिन्न । यसबाट उच्च मूल्य प्राप्त गर्न यसलाई प्रशोधन गर्ने केन्द्रहरु स्थापना गर्नुपर्छ । वास्तवमा प्रशोधन उद्योगको अभावकै कारण नेपालमा यसको खेती विस्तार र प्रगति हुन नसकेको हो । यसबाट बन्ने औषधिहरुको उत्पादन नेपालमै गर्ने प्रविधिको विकास गरी औषधि उद्योग खोल्ने हो भने यसबाट अधिकतम फाइदा पुग्नेछ ।
चिराइतो खेती प्रवर्धन ः चिराइतो आफैमा बहुगुणी औषधि हो । यसको यही ब्रान्ड नै काफी छ तर यसलाई प्रशोधित रुपमा बजारमा ल्याउने विषयमा हाम्रो मुलुकमा कुनै कार्य भएको छैन । यसलाई प्रशोधन गरी खेती विस्तार कार्यक्रम तथा बजारीकरण गर्नेबारे निरन्तर प्रवर्धन कार्यक्रमहरु सञ्चालन गरिरहनुपर्छ ।

गाउँपालिकालाई फाइदा
चिराइतोको पकेट क्षेत्र बनाई व्यावसायिक खेती विस्तार गर्दा सर्वप्रथम गाउँपालिकाले नै धेरै फाइदा लिनेछ । किनभने गाउँपालिकाभित्र बसोबास गरिरहेका नागरिकहरुलाई यसको खेतीबाट फाइदा हुनेबित्तिकै त्यो श्रेय गाउँपालिकालाई नै जान्छ । यही गाउँपालिकामै चिराइतो खेतीको सूचना केन्द्र, नमुना खेती रहने हुनले यसले अर्को आकर्षण गर्छ, जसबाट यसका सरोकारवालाहरुलाई यो ठाउँसम्म आएर हेर्ने तथा अध्ययन गर्ने अवसर सिर्जना गरिदिन्छ । आन्तरिक र वाह्य पर्यटकहरु तुरून्तै आकर्षित हुनेछन् । यसबाट होम स्टे, होटल, रेस्टुराँ आदि सञ्चालन हुन्छन् । देशको विभिन्न ठाउँमा भइरहेका गतिविधि र विकासका गतिविधि नियाल्ने, नयाँ कुराहरु सिक्ने र सिकाउने प्रवृत्ति पनि विकास हुँदैछ । यही कारण चिराइतो खेती विस्तार तथा पकेट क्षेत्रले समग्रमा भोजपुरको साल्पासिलिछो गाउँपालिकालाई निकै फाइदा पुग्छ ।

(लेखक कृषि पर्यटन अभियन्ता तथा कृषि परामर्शदाता हुन । उनका दर्जन कृषिका पुस्तक बजारमा आएका छन । भोजपुर हतुवागढीमा जन्मिएका उनी कृषि पर्यटन अभियान लिएर मुलुकका ७७ वटै जिल्ला पुग्ने उनी पहिलो नेपाली नागरिक हुन । -सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖