स्थानीयवासीले चाबी खोसेपछि सडक कालोपत्रको काम ठप्प

केदार मगर/खोटाङ, १८ साउन । ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल र पसलको रकम भुक्तानी नदिएको भन्दै महुरे–राजापानी सडकखण्ड कालोपत्रको काममा खटिएका कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका छन् ।

भारत कन्ट्रक्सन÷सिद्धि शाही जेभीका ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल, हार्डवेयर, खाद्य सामग्रीलगायतको भुक्तानी नदिएको भन्दै कामदार तथा स्थानीय व्यवसायीले यहि साउन २ गते निर्माण कम्पनीका ट्रक, टिपर र ट्र्याक्टरको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका हुन् ।

विसं २०७६ मा ठेकेदार कम्पनीसँग गरिएको सम्झौताअनुसार निर्माण कम्पनीका ठेकेदारले आफूहरुलाई दिनुपर्ने रकम भुक्तानी नदिएपछि चाबी नियन्त्रणमा लिएर सडक निर्माणको काम रोक्नुपरेको बुइपाका व्यवसायी मोहन श्रेष्ठले बताउनुभयो । “ठेकेदारले यसअघि गरेका सम्झौताअनुसार हामीलाई भुक्तानी दिएको छैन”, उहाँले भन्नुभयो, “ठेकेदारलाई फोन गर्दा फोन उठाउँदैन, हामीलाई ढाँटेको ढाँट्यै गरेपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक र ठेकेदारलाई भनेरै निर्माण कम्पनीमा सञ्चालित सबै सवारी साधनको चाबी मागेर राखेका छौँ ।”

कामदार तथा स्थानीय व्यवसायीले ठेकेदारबाट रकम भुक्तानी नपाएपछि यसअघि २०७६ पुस २० गतेदेखि एक महिना र फागुन ८ गतेदेखि दुई दिन सडक निर्माणको सम्पूर्ण काम ठप्प बनाएका थिए । यसअघि गरिएको सम्झौताअनुसार ठेकेदार कम्पनीबाट माग पूरा नभएपछि कामदार तथा स्थानीय व्यवसायीले पुनः सोही माग राखेर सडक कालोपत्रको काममा अवरोध गरेका हुन् ।

स्थानीय कामदार तथा व्यवसायीको अवरोधका कारण यही साउन २ गतेदेखि नै सडक निर्माणको सम्पूर्ण काम ठप्प बनेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने कामदार तथा व्यवसायीले निर्माण कम्पनीको सवारी साधनको चाबी नियन्त्रणमा राखेको विषयमा दुवै पक्षबाट जानकारी नआएको बताउनुभयो ।

सडक कालोपत्रको काममा स्थानीय व्यवसायी तथा कामदारले गरेको अवरोध फुकाउने विषयमा हालसम्म कसैको ध्यान पुगेको छैन । कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीबाट रु २८ लाख पाउन बाँकी रहेको बताएका छन् । महुरेमा रात दिन गिट्टी कुटेका दर्जनौँ महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन् । गिट्टी कुटेबापत ठेकेदार कम्पनीबाट प्रतिव्यक्ति कम्तीमा रु ३० हजार रकम भुक्तानी नपाएको स्थानीय एक महिला कामदारले गुनासो गर्नुभयो ।

निर्माण कम्पनी भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका सुपरभाइजर गणेशप्रसाद तिम्सिनाले गाईघाट–दिक्तेल सडक कार्यालयले दुई वर्षयता बिल भुक्तानी नदिएकाले कामदार तथा व्यवसायीको बक्यौता रकम भुक्तानी दिन नसकिएको बताउनुभयो ।

पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक झण्डै दुई वर्षयता कालोपत्रको काम सन्तोषजनक देखिएको छैन । कामदार तथा स्थानीय व्यवसायीले अवरुद्ध बनाएको काम पुनः शुरु गर्ने र बीचैमा रोक्ने क्रम पटक–पटक चल्दा सडक कालोपत्रको प्रगति नदेखिएको हो ।

सडक कालोपत्रको काममा ढिलासुस्ती गरेकामा भारत कन्ट्रक्सन÷सिद्धी शाहीबाट करिब रु साढे छ करोड बैंक ग्यारेन्टी तानिसकिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ । उक्त कम्पनीले २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते रु ४१ करोड ५० लाख लागतमा महुरे–राजापानी (२२ किलोमिटर) सडक कालोपत्र गर्ने गरी योजनाको सम्झौता गरेको थियो ।

सम्झौता गरेको तीन वर्ष बितिसक्दा पनि महुरे–राजापानी सडकखण्डको भौतिक प्रगति ३५ प्रतिशतमात्र देखिएको स्थानीय बासिन्दा मिलन राईले बताउनुभयो । “सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको छ”, उहाँले भन्नुभयो, “भएका काम पनि गुणस्तरहीन भएको र त्यहाँ कार्यरत कामदारले लामो समयसम्म भुक्तानी पाएका छैनन्, यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

यस्तै, देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले कालोपत्र गर्ने जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार (२७ किलोमिटर) सडकको हालसम्म करिब ५९ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । रु ५५ करोड ८७ लाख लागतमा २०७७ साउन १० गतेभित्र कालोपत्रको सम्पूर्ण काम पूरा गर्ने शर्तमा २०७३ साउन ११ गते सो सडकको सम्झौता भएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।