पर्वतमा निर्माणाधीन विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने

पर्वत । जिल्ला सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ ।

पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताए ।

उनले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए । ‘अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाइन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ,’ उनले भने, ‘पर्वतमा साहसिक पर्यटनको विकासका लागि यो जिपलाइन पनि महत्वपूर्ण हुनेछ । जिपलाइनसहित साहसिक खालका अरु काम पनि हामीले गर्ने तयारी गरिरहेका छौँ ।’

जिपलाइनको परीक्षण अब १५ दिनपछि गर्ने तयारी भइरहेको बस्नेतले बताए । यस्तै छ महिनाभित्रमा रिसोर्ट, ह्युमन सिलिङसट र स्वीमिङ पुल निर्माणको काम सक्ने उनको भनाइ छ ।

यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ ।

कम्पनीका अध्यक्ष विदुर पौड्यालले पोखराबाट स्थलमार्ग हुँदै धेरै पयर्टक मुस्ताङसम्म जाने गरेको भए पनि उनीहरू पर्वतका पर्यटकीय गन्तव्यस्थलमा नपुग्दा जिल्लामा पर्यटकीय विकास हुन नसकेको बताए ।

समुद्रको पानीमा साहसिक खेल खेल्न रुचाउने पर्यटकलाई बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर नै कालीगण्डकी नदीमा जेटस्की सञ्चालनमा ल्याउने तयारी गरिएको पौड्यालको भनाइ छ ।

जेटस्कीको परीक्षण सफल भए कालीगण्डकी नदीको सतहमा मोटरसाइकलमा गुडेजस्तै गरी गुड्ने साधनमा खेल्न पाइने उनले बताए ।

अहिले वर्षायाम भएकाले नदीमा पानीको बहाव ठूलो भएका कारण पानीको मात्रा घट्नासाथ परीक्षण गर्ने तयारीमा लगानीकर्ता छन् ।

सदरमुकामसमेत रहेको कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा जिपलाइन बनाउन थालिएको हो । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी श्याम जिपलाइनका इञ्जिनीयर नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।

पर्वतको जिपलाइनमा एकै पटकमा दुईजनासँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेण्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने जनाइएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖