म्याद सकिएको ३ वर्ष वित्दासमेत फोक्सिङ्टार पक्की पुल अलपत्र, अस्थायी बेलिब्रिजमै सकियो चार करोड

उदयपुर, २३ असोज । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-दिक्तेल सडकमा पर्ने सुनकोशी नदीको मोटरेबल पक्की पुल निर्माणको म्याद सकिएको तीन वर्ष बितिसक्दासमेत निर्माण कम्पनीको लापरवाहीले पुल बन्न सकेको छैन । तोकिएको सम्झौता भन्दा तीन वर्ष ढिला हुँदासमेत मोटरेबल पक्की पुलको काम ४८ प्रतिशत सकिएको भएको छ । कम्पनीको लापरवाहीका कारण सुनकोशी नदीको निर्माणाधीन पक्की पुल निर्माण हुन नसकेको हो । निर्माणधीन पुलको निर्माण कार्य अलपत्र अवस्थामा छ ।

उदयपुरको रौतामाई गाउँपालिका– ५ फोक्सिनटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे अवस्थित सुनकोशी नदीमा निर्माण हुन लागेको पक्की पुल निर्माण कार्य लामो समयदेखि अलपत्र भएको हो । नदीको वारी र पारी पिलर मात्र उठाएर छाडिएको छ । पिलर गाड्ने कामबाहेक कुनै काम हुन सकेको छैन । ढिलाई हुनुमा ठेकेदार र विभागका उच्च पदस्थ कर्मचारी जिम्मेवार भएको खोटाङबासीको आरोप रहेको छ ।

दुई जिल्लालाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको ९ वर्ष पुग्यो । २० चैत २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुलको काम आधा पनि नहुँदा दुई जिल्लाबासीलाई आउजाउमा समस्या भइरहेको छ । गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका– ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका– ९ बीचको फोक्सिन्टारमा निर्माणाधीन पुल २३ चैत २०६९ मा ठेक्का सम्झौता भएको थियो ।

साढे ४ मिटर गहिरो फाउन्डेसन, ४ मिटर उचाई र १२० मिटर लामो पुल निर्माणको जिम्मा गौरी पार्वती र वाईपी जेबीले लिएको छ । ३ स्पानको सो पुल बनाउन सडक विभागले १९ करोड ६० लाखमा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ । पुलको काम उदयपुर र खोटाङतर्फ जमिनको सतहभन्दा माथिसम्म पिलर उठाउने काम भएको छ ।

निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले कोरानाको बहाना बनाएर काम नगरेको गाईघाट दिक्तेल सडक योजना कार्यालयको गुनासो छ । सुपरस्ट्रक्चर नै पूरा नभएकाले पुलको काम गर्न अझै निकै समय लाग्नेछ । कोशीमा बाढी आएको बहाना र विभिन्न अन्य बहाना बनाएर निर्माण कम्पनीले काम नगर्ने गरेको रौतामाई गाउँपालिका–५ का वडा अध्यक्ष पाण्डव राई बताउँछन् ।

पुल समयमा नबनेकै कारण वर्षेनि हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्खा लागेपछि बैशाख अन्तिममा निकाल्ने गरिएको छ । पुल समयमा नबने कै कारण छैठौं पटक अस्थायी बेलिब्रिजमामात्र ४ करोड भन्दा बढी रकम खर्च भइसकेको छ । यो क्रम विगत ६ वर्षदेखि निरन्तर चलिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।