त्रिपालमुनि नै बित्ने भयो सुकुम्बासीको दसैँ

झापा । दमक–७ पञ्चमुखी टोलकी धनमाया विश्वकर्माले गत वर्ष आफ्नै घरमा दसैँ मनाएकी थिइन् । सुकुम्बासी धनमायाले वर्षभरि मजदुरी गरेर भए पनि विगतमा दसैँ धुमधामका साथ मनाउँथिन् । तर यसपटकको दसैँ उनका लागि दशा बनेर आएको छ । आफ्नो घर छैन । त्रिपालमुनि दसैँ बनाउनुपर्ने बाध्यता छ ।

गत चैतमा धनमायाको टहरामा डोजर लाग्यो । त्यसयता उनी त्रिपालमुनि छिन् । ‘गत सालसम्म त आफ्नै घरमा दसैँ बनाएका थियौँ । सानै र सुकुम्बासी बस्तीमै भए पनि आफ्नै घर थियो,’ उनी भन्छिन्, ‘यसपालि त हाम्रा लागि दसैँ दशा रहेछ । दसैँ के आउनु र !’

विगतमा आफन्त बोलाएर दसैँ मनाउँथे सकुम्बासी बलबहादुर विश्वकर्मा । तर, यसपटक बस्ने घर छैन । सहरको कुरूप उपनाम दिएर दमक नगरपालिकाले उनको घरमा डोजर लगायो । पञ्चमुखी टोलका सात घर सुकुम्बासी एकै ठाउँमा त्रिपाल टाँगेर सामूहिक बसेका छन् । ‘यसपटक त आफन्त बोलाउन सक्ने अवस्था छैन । बोलाएर के खाने ? कहाँ बस्ने ?,’ बलबहादुर भन्छन्, ‘जीवनमा यस्तो बिजोग हुन्छ भन्ने पनि सोचेका थिइनँ ।’ नगरपालिकाले घर भत्काएपछि कमाएर खानसम्म सकेका छैनन्, सुकुम्बासीहरूले । वर्षौ दुःख गरेर टाउको लुकाउन बनाएको घर नगरपालिकाले भत्कायो । ‘घर भत्काएपछि काममा जानसक्ने अवस्था पनि रहेन,’ बलबहादुर भन्छन्, ‘लकडाउनले त्यसै ऋण लागेको थियो । तिर्न नपाउँदै घर भत्कायो । केही समय त सहयोग गर्नेले दाल, चामल दिए । त्यही खाएर अहिलेसम्म बसेका छौँ । दसैँमा यसले पुग्दैन ।’

टहरमुनि केटाकेटी पनि छन् । उनीहरूले दसैँमा केही नदिएको भनेर अभिभावकलाई गुनासो गरिरहेका छन् । अभिभावक विवश छन् । उनीहरूको इच्छा पूरा गर्न सकेका छैनन् । ‘बजारमा दसैँमा नयाँ लुगा किन्नेको भिड छ । हाम्रा केटाकेटीले पनि यो देख्छन् । हामीलाई चाहिँ किन नकिनिदएको भनेर किचकिच गरिरहेका छ,’ सकुम्बासी राम लिम्बु भन्छन्, ‘हामीसँग जवाफ छैन । हामी ठूला त भोकै भए पनि कटाउँछौँ÷कटाएका छौँ । तर केटाकेटीलाई सम्झाउन निकै गाह्रो हुन्छ । अब दसैँमा मीठो मसिनो के खुवाउने भन्ने चिन्ता छ, हामीलाई ।’

सुकुम्बासीका लागि चाडपर्व नआएकै राम्रो हुने बताउँछन् सुकुम्बासी बालकुमार राई । यसपटक दसैँ मनाउन सक्ने अवस्थामा नरहेको उनले बताए । ‘दसैँ पहिला त जसरी भए पनि भव्य मनाउँथ्यौँ । कम्तीमा छोराछोरीको रहर पूरा गथ्र्यौँ । काम गरेर पैसा छ भनेर त कहिले पुगेन । तर, कम्तीमा साहुले ऋण पत्याउँथे । त्यही ऋण लिएर भए पनि दसैँ मनाउँथ्यौँ,’ उनले भने, ‘पछि साहुलाई बुझाउँथ्यौँ । तर, अहिले त साहुले घर–ठेगाना केही छैन भनेर पत्याउनै छाडे । दसैँ खल्लो भयो । बरू दसैँ नआएको भए अरू बेला जस्तै दुःख गरेर खाने थियौँ । अरूले मिठो मसिना खान्छन्, राम्रो लुगा लगाउँछन् । हाम्रा छोराछोरीलाई हामीले केही गर्न सकेनौँ ।’

पहिलो दसैँ पञ्चमुखी टोलका सुकुम्बासीले त्रिपालमुनि बिताए । राज्यले घरमा डोजर लगायो । तर, उनीहरूको व्यवस्थापनमा कुनै चासो दिएन । दमक नगरपालिका सकुम्बासीका लागि बनाएको एकीकृत बस्तीमा जान सुकुम्बासीलाई आग्रह गरिरहेको छ । उनीहरू संविधानले नै जग्गा धनीपूर्जाको व्यवस्था गर्ने भएकाले धनीपूर्जाविनाको एकीकृत बस्ती जान मान्दैनन् । अझै कतिवटा दसैँ यही त्रिपालमुनि बिताउनुपर्ने हो टुंगो छैन, उनीहरूको । ‘अब यस्ता चाडपर्व त कति यही त्रिपालमुनि बिताउनुपर्ने हो थाहा छैन,’ सुकुम्बासी मनाहाङ्ग सुब्बा भन्छन्, ‘धेरैवटा दसैँ यसरी नै त्रिपालमुनि बिताउन तयार छौँ हामी । तर, हामीले पाउने अधिकार स्थापित गराएरै छाड्छौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।