ताप्लेजुङसहित विभिन्न क्षेत्रमा १६औं राष्ट्रिय विभूति फाल्गुनन्द जन्मजयन्ती मनाइँदै
ताप्लेजुङ, २५ कात्तिक ।१६औं राष्ट्रिय विभूति तथा फाल्गुनन्द लिङ्देनको १३७औं जन्मजयन्ती ताप्लेजुङसहित विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमका साथ आज मनाइँदैछ । २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्वामा जन्मिएका फाल्गुनन्द १६ वर्षकाे उमेरमा बर्माकाे सैनिक सेवामा प्रवेश गरेका थिए । उनले सन् १९१४ को पहिलो विश्वयुद्वमा समेत भाग लिएका थिए ।
मान्छे मान्छेबीचको लडाइँ, मारामारबाट विश्व शान्ति नहुने भन्दै उनले सैनिक जागिर छाडेर हिँडेका थिए । नेपाल फर्किएपछि लिम्बू समुदायमा भएको धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति विसंगगी र सुधार गर्नु पर्ने पक्षमा सचेतना जगाउन थाले । लोप हुँदै गरेको लिम्बू समुदायको भाषा लिपि सिरिजंगा लिपिको खोजी गरी संरक्षण सम्वर्द्धन गरे । उनले यही क्रममा लिम्बू समुदायको जन्म विवाह मृत्यु संस्कारलाई समयानुकुल सुधार गरेका थिए । हत्या हिंसा गर्न नहुने, झुठाे बाेल्नु नहुने, नारीहरू सृष्टिकर्ता भएकोले उनीहरूलाई समाजमा उच्च सम्मान दिनुपर्ने, कुल देवतालाई चोखोनितो भइ बिहान बेलुका पूजाआराधना गर्नु पर्ने, मासु तथा मदिरापान गर्नु नहुने साथै देवीदेवतालाई मासु र मदिरा चढाउनु नहुने सन्देश दिँदै समाज सुधार गर्न लागे ।
धर्म संस्कार र संस्कृतिको रुपमा देखिएका विकृति विसंगति र कुरीतिहरूलाई संशोधन गरी राम्रा रीतिरिवाजको संरक्षण र खराब कुराहरूलाई सच्याउनुपर्ने भन्दै २५ वैशाख १९८८ मा तत्कालिन १० लिम्बूवान १७ थुमका सामाजिक व्यक्तित्वहरूको भेला गराइँ पाँचथरकाे फिदिममा १० बुँदे सत्य धर्म मुचुल्का तयार गरी प्रचारप्रसारका साथै लागु गरेका थिए ।
उनले तप्लेजुङको फक्ताङलुङ हिमाल (कुम्भकर्ण) लाई किराँतीहरूको पवित्र धार्मिकस्थल तथा तिर्थस्थलको रुपमा समेत विकास गरेका थिए । त्यसैअनुसार अहिले हजारौको संख्यामा धार्मिक पर्यटक कुम्भकर्ण हिमालको दर्शन गर्न जान्नेछन् । कुम्भकर्ण हिमाल क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न नेपाल सरकारले प्राथमिकता दिँदै आएको छ ।
उनी किराँती मौलिक धर्म र संस्कृतिको प्रचारप्रसार गर्दै भारत, भुटान र नेपालका विभिन्न स्थानमा समेत पुगेका थिए । समाज सुधारको प्रचार प्रसार गर्दै गर्दा देशद्राेहीको आरोप समेत उनले खेप्नुपरेको थियो । को विक्रम सम्वत २००५ मा पाँचथरको इम्वुङ गाविसको हाङयकमा उनकाे निधन भएकाे थियाे । उनको मृत्युपछि किराँत धर्म संस्कार र संस्कृति र समाज सुधारको अभियानलाई मान्ने संघ संस्थाले २५ कात्तिकलाई उनकाे जन्म जयन्तीकाे रुपमा मनाउँन थालिएकाे हाे ।
लिङदेनलाई नेपाल सरकारले १६ मंसिर २०६६ मा १६औ राष्ट्रिय विभुति घोषणा गरेकाे हाे । सरकारले उनको स्मरणमा २०५० सालमा हुलाक टिकट प्रकाशनमा ल्याएर सम्मान गरेको छ ।


