प्रचण्ड विरामी, अस्पताल भर्ना
काठमाडौं, २७ कात्तिक ।सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएर उनी मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । धपेडीले र क्तचाप बढेर स्वास्थ्यमा समस्या आएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।
कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्र देखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष प्रचण्डलाई सामान्य र क्तचाप बढ्न गएको उनले उल्लेख गरेकी छन् ।
गंगाका अनुसार अहिले अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिने छ ।
राष्ट्रिय जनगणनाः सभामुखको विवरण सङ्कलन
काठमाडौँ, २७ कात्तिक (रासस) ः राष्ट्रिय जनगणनाका लागि सभामुख अग्निप्रसाद सापकोटाको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गरिएको छ ।
जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा रामकुमार फुँयालको नेतृत्वमा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहितको टोलीले आज सभामुख निवास लैनचौर पुगेर उहाँको विवरण सङ्कलन गरेको हो ।
सो अवसरमा सभामुख सापकोटाले जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन सबैमा आह्वान गर्नुभएको थियो । विभागका महानिर्देशकसहितको टोलीले यसअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विवरण सङ्कलन गरेको थियो ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना यही कात्तिक २५ देखि आगामी मङ्सिर ९ गतेसम्म हुँदैछ ।


