अब उदयपुरबाटै सवारी चालक अनुमति पत्र
उदयपुर, १ मंसिर । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले सवारी अनुमतिपत्र (लाइसेन्स) वितरणको काम थालेको छ । २०७२ असारमा सेवा कार्यालय स्थापना भए पनि पहिलो पटक लाइसेन्स दिने काम थालेको हो ।यातायात व्यवस्था विभाग, प्रदेश यातायात व्यवस्था निर्देशनालय इटहरीबाट २९ कात्तिकबाट लाइसेन्स वितरणको परिपत्र आएको कार्यालय प्रमुख सुभाष कार्कीले जानकारी दिए ।
यसअघि सवारी दर्ता, लाइसेन्स नविकरणको काम मात्रै हुने गरेकोमा लाइसेन्सको फारम भर्न थालिएको जानकारी दिए । लाइसेन्स नै वितरणको जिम्मेवारी पाएको कार्यालय प्रमुख कार्कीले बताए । उनका अनुसार अब स्कुटीदेखि जीप, कार, भेन जस्ता हलुका सवारी साधनको लाइसेन्स वितरण गर्ने अधिकार कार्यालयले पाएको छ । लाइसेन्सका लागि फाराम खुल्ला भइससकेको पनि कार्कीले जानकारी दिए ।
कार्यालयदेखि ३ किलोमिटर पश्चिम त्रियुगा नगरपालिका– ९ गहिरुनमा १ बिगाहा क्षेत्रफल जमिनमा ‘सवारी ट्रायल सेन्टर’ निर्माण भइसकेको छ ।
आरम्भ चौतारी लघुवित्तमा देउराली गाभियो
काभ्रेपलाञ्चोक, १ मङ्सिर (रासस) : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ ।
दुई वित्तीय संस्था गाभिएर मङ्गलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी रु ३० करोड ६९ लाख २३ हजार र सदस्य संख्या ५२ हजार ४१९ पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो । संस्थामा ९२ हजार ९५२ ऋणी छन् । यसमा आवद्ध ५२ हजार ९५२ को बचत परिचालन रु एक अर्ब ४७ करोड ६५ लाख ५७ हजार रहेको छ ।
संस्थाको रु पाँच अर्ब ३२ करोड २४ लाख कर्जा लगानी रहेको जनाइएको छ । एकीकृत कारोबारपछि संस्थाले ५२ जिल्लामा १४९ शाखामार्फत सेवा दिनेछ । संयुक्त कारोबारको शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले नेपालको लघुवित्त वित्तीय संस्थाको सङ्ख्या ६८ रहेकामा अझै बढ्ने भएकाले नेपालजस्तो मुलुकमा कति बैंक तथा वित्तीय संस्था आवश्यक हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले नेपालमा लघुवित्त संस्थासामु ठूलो चुनौती रहेको उल्लेख गर्दै केही नीतिगत समस्या भएकाले त्यसलाई हटाउन वित्तीयविज्ञद्वारा पहल भइरहेको बताउनुभयो । देउराली लघुवित्तका अध्यक्ष विनोद ज्ञवालीले एकीकृत कारोबारपछि वित्तीय संस्थालाई सबल र सक्षम बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बनेपा–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, संस्थाका नायब कार्यकारी अधिकृत किरण काफ्ले, विभागीय प्रमुख विमल खनाल, देउराली लघुवित्त संस्थाका सञ्चालक समिति सदस्य दामोदर रेग्मीलगायतले कारोबार सफलताको शुभकामना दिनुभएको थियो । संस्थामा देउराली लघुवित्तका अध्यक्ष ज्ञवालीलाई सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीलाई कम्पनी सचिवमा नियुक्त गरिएको छ ।
–––


