नगरकोट सडकखण्ड आठ वर्षदेखि अलपत्र, सडकलाई लिएर एमाले र कांग्रेसबीच आरोप-प्रत्यारोप

भक्तपुर, २ मंसिर ।पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र छ । संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन ।

सडक बन्न नसक्दा स्थानीय मात्रै नभई पर्यटकसमेत सास्ती भोगेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र वर्षामा हिलो सहँदै आएका स्थानीयले सडक निर्माणका लागि सरोकारवाला निकायलाई झकझकाउन कहिले सडक बन्द त कहिले मन्त्रालयमा पत्राचार गर्दै आएका छन् । तर पछिल्लो समय सो सडकलाई राजनीतिक दृष्टिकोणबाट हेर्न थालिएको छ ।

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ नगरकोट र ७ खरिपाटीमा पर्ने सडकखण्ड निर्माणको विषयलाई पछिल्लो समय नेपाली कांग्रेसका नेता र एमाले प्रतिनिधिले एकअर्कामा आरोप-प्रत्यारोप गर्न थालेका छन् । सडक निर्माणका लागि आर्थिक वर्ष २०७०-७१ मा सम्झौता भएको थियो । लामो समयसम्म सडक नबनेपछि कमलविनायक-नगरकोट सडक निर्माण दबाब समिति नै गठन गरिएको थियो । सोही समितिमार्फत सडक निर्माण सम्पन्न गर्न दबाब दिइँदै आएको छ ।

समितिका संयोजक राजकुमार लामिछानेले विरोध गर्दा ठेकेदार कम्पनीले केही काम गरेको जस्तै गर्ने र विस्तारै निर्माण कार्य नै अलपत्र छाडेर हिँड्ने प्रवृत्ति देखिएको बताए । ‘सडक निर्माण कार्य सम्पन्न हुन नसक्दा स्थानीय मात्रै नभई पर्यटक पनि प्रभावित भएका छन् । सडकको दयनीय अवस्थाले नगरकोट जाने पर्यटकको संख्यामा समेत कमी आएको छ’, उनले भने ।

सडक निर्माण चाँडै सम्पन्न गर्न प्रदेश मन्त्री कृष्णलाल भँडेलले तीव्र रूपमा काम गर्न निर्देशन दिएका छन् । तर मन्त्रालय वा विभागले केही चासो देखाएर सडकको निर्माण कार्य तीव्र गरे पनि काममा ढिलासुस्ती भएको स्थानीयको आरोप छ । करिब १५ किलोमिटर रहेको सडकखण्ड फराकिलो बनाउन सडक भत्काइएको थियो । सोहीअनुरूप दुई लेन अर्थात् सात मिटर हुने गरी सडकको कालोपत्रे भइरहेको छ । एक क्षेत्रको नौ किलोमिटर सडक कालोपत्रे भए पनि अझै चार किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । अबको दुई महिनाभित्र सडक निर्माण कार्य भइसक्ने दाबी निर्माण कम्पनीको छ ।

भक्तपुर-नगरकोट सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले एक-दुई महिनाभित्र निर्माण सम्पन्न गर्नक आवश्यक जनशक्ति, उपकरण र निर्माण सामग्री पर्याप्त हुनुपर्ने ले बताए ।

एमाले र कांग्रेसबीच आरोप-प्रत्यारोप

लामो समयदेखि बेवारिसे बन्दै आएको सडक निर्माणका विषयमा हाल एमाले र कांग्रेसका जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप चलेको छ । बागमती प्रदेशका भौतिकमन्त्री कृष्णलाल भँडेलले एमालेका नेता वा प्रतिनिधिका कारण नगरकोट क्षेत्रको सडक बन्न नसकेको आरोप लगाएका छन् । तर एमाले प्रतिनिधिले भने सडक विकासमा कुनै राजनीति नभएको भन्दै मन्त्री भँडेलकाे आराेपकाे खण्डन गरेकाे छ ।

एमाले चाँगुनारायण नगर कमिटीका अध्यक्ष रामप्रसाद तिमल्सिनाले मन्त्री भँडेलले आफ्नो पार्टीविरुद्ध झुटाे आरोप र स्तरहीन गालीगलौज गरेको आरोप लगाएका छन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी, शान्तिपूर्ण जनक्रान्तिको सम्बाहक, संविधान निर्माणको निर्णायक शक्ति, राष्ट्रियता, जनजीविका र सामाजिक न्यायका लागि सञ्चालित आन्दोलनको मुख्य परिचालक शक्ति हुनुको नाताले एमाले चाँगुनारायण नगर कमिटी सधै जनतासँगै हातेमालो गर्दै समृद्ध चाँगुनारायण निर्माणमा हरपल क्रियाशील छ’, एमाले विज्ञप्तिमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।