अर्थमन्त्रीले सकारात्मक काम कारवाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह
काठमाडौँ, ४ मङ्सिर ।अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक काम कारवाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध सङ्घ, सङ्गठनले जोड दिनुपर्ने उहाँको भनाइ छ । प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिको अधिवशेनको उद्घाटन गर्नुहुँदै उहाँले ‘सत्य के हो ? त्यसलाई स्थापित गर्न अनुरोध गर्नुभयो । अर्थमन्त्रीले भन्नुभयो, “जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् ।” उहाँले सत्य स्थापित गर्दा त्यहाँ कुनकुन पात्र जोडिन आइपुग्छन्, त्यसतर्फ ध्यान नदिन अनुरोध पनि गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका नेता शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको बताउँदै माओवादी र त्यसको नेतृत्व ‘प्रचण्ड’को आँट र साहसबाट मात्रै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । जनयुद्ध र जनआन्दोलनको प्रक्रियाबाटै नेपाललाई सामन्तवादबाट मुक्त गरेर समावेशी लोकतन्त्र स्थापना भएको स्पष्ट पार्दै उहाँले अहिलेको लोकतन्त्र परम्परागत लोकतन्त्र नभई सुदृढ लोकतन्त्र भएको स्पष्ट पार्नुभयो ।
समावेशी लोकतन्त्र स्थापनाका लागि माओवादीले सञ्चालन गरेको जनयुद्धले नै भूमिका निर्वाह गरेको तथ्य पेश गर्दै उहाँले त्यसलाई भत्काउन खोज्ने क्रमशः किनारामा धकेलिने उल्लेख गर्नुभयो । नेता शर्माले माओवादी अध्यक्ष ‘प्रचण्ड’ र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको तथ्यलाई स्थापित गर्ने काममा लाग्न पनि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । मुलुकमा स्थापित भएको परिवर्तनको रक्षाका लागि पनि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।
प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने
बनियानी, ४ मङ्सिर ।झापाको बिर्तामोडमा प्रदेश नं १ स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।नयाँ खेलाडीलाई उत्पादन गर्ने उद्देश्यले फागुन २७ र २८ गते ‘मिस्टर कञ्चनजङ्गा घबडी बिल्डिङ च्याम्पियनसीप’ हुन लागेको हो । बिर्तामोडमा आज अयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका कार्यक्रम संयोजक राम दाहालले प्रदेश नं १ मा हालसम्मकै ठूलो धनराशिको प्रतियोगिता हुने जानकारी दिनुभयो ।“कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो समय प्रतियोगिता हुन सकेको थिएन”, उहाँले भन्नुभयो, “नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।”
प्रतियोगितामा प्रथम हुनेलाई रू तीन लाख, दोस्रोलाई रू दुई लाख, तेस्रोलाई रू एक लाख, चौथोलाई रू ७५ हजार र पाँचौँलाई रू ५० हजार पुरस्कार प्रदान गर्नेछ । प्रतियोगिता ५५, ६०, ६५, ७० र ७५ केजीभन्दामाथि पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सबै तौल समूहबाट विजेताबीच प्रतिस्पर्धा हुने बताउँदै संयोजक दाहालले भन्नुभयो, “उनीहरुबीच पनि प्रतिस्पर्धाबाट च्याम्पियन अफ द च्याम्पियन छानिने छन् ।”त्यस्तै प्रतियोगिताअन्तर्गत महिलाको पनि शारीरिक सुगठन प्रतियोगिता हुनेछ । महिला प्रतियोगितामा प्रथमले रू १५ हजार, दोस्रोले रू १० हजार र तृतीयले रू पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्रदेश नं १ भरका एक सय पुरुष तथा महिला खेलाडी सहभागी हुने आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न रू २० लाख खर्च हुनेछ ।नयाँ खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । खेलाडीलाई प्रतियोगितामा सहभागी हुन तयारीका लागि कम्तीमा ९० दिन लाग्ने भएकाले सोहीअनुसार प्रतियोगिताको मिति तय गरिएको अयोजकको भनाइ छ । प्रतियोगिताको आयोजना बिर्तामोडस्थित ‘बडी ग्यारेज’ जिम हलले गरेको हो ।


