सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ, ६ मङ्सिर। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ७००मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० कायमभएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९३ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० पुगेकोे महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।
नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु
चितवन, ६ मङ्सिर ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत यहाँ आज प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन सुरु भएको छ । बिहान ९ः०० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै निर्वाचन प्रक्रिया सुरु भएको हो । चितवन क्षेत्र नं १ मा सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । इन्द्रकमल बुढाथोकी र किरणभूषण ओली, सचिवमा महेश्वर थपलिया, दिपकराज पौडेल, शिवनारायण चौधरी, ईश्वर खनाल, तथा उमेश गिरी र सहसचिवमा नवराज भुसाल, विष्णुहरि थापा, दीपनारायण चौधरी, गणेश थपलिया तथा माधव पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँका अनुसार यस निर्वाचन क्षेत्रमा ९१० क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । यस क्षेत्रको अधिवेशन रत्ननगरमा भइरहेको छ ।
यस्तै क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा भरत लामिछाने र लक्ष्मण गुरुङको उम्मेदवारी दर्ता भएको छ । सचिवमा काशीराम गिरी, ध्रुवराज सुवेदी, निर्मलकुमार राना, प्रल्हाद उप्रेती र विकास पौडेल तथा सहसचिवमा इन्द्रबहादुर घलान, कुष्माकुमारी पन्त, विष्णुहरि खनिया, भवानीदेवी अधिकारी, महेन्द्र थापामगर, रामजी पौडेल र सिर्जना बसौला देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस क्षेत्रमा ९६९ मतदाता रहेका छन् । यस क्षेत्रको मतदान उद्योग वाणिज्य सङ्घमा भईरहेको छ । चितवन क्षेत्र नं ३ मा पाँच जनाले क्षेत्रीय सभापतिमा उम्मेदवारी मनोनयन गराएको बताइएको छ । सभापतिमा अमृतबहादुर बानिया, जगन्नाथ कँडेल, दामोदर न्यौपाने, देवेन्द्रप्रकाश क्षेत्री र लालबहादुर दवाडी उम्मेदवार रहनुभएको छ । यस्तै सचिवमा तुलाराम गुरुङ, दीपक कुँवर, नवीन न्यौपाने, बृज महतो (झलक), लिलकुमार महतो, सरस्वती पाण्डे (सिर्जना) र क्षेत्रप्रसाद सापकोटा तथा सहसचिवमा इन्दिरा भुसाल कँडेल, गणेशप्रसाद कँडेल, लक्ष्मीप्रसाद सापकोटा, र सिर्जना अधिकारी लामिछानेले उम्मेदवारी मनोनयन गराएको जनाइएको छ । यस निर्वाचन क्षेत्रको शहिद स्मारक कलेज शारदानगरमा मतदान हुँदैछ । यहाँ ९६० मतदाता रहेका छन् ।
पोख्रेलका अनुसार आज हुने निर्वाचनले २५ महाधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ । कांग्रेसको महाधिवेशनअन्तर्गत यही मङ्सिर १० गते जिल्ला अधिवेशन हुँदैछ ।


