राष्ट्रपति भण्डारीबाट जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना
महोत्तरी, ६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । आज राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि यहाँ आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गर्नुभएको थियो । जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिंढीमुनि जमिनभित्र रहेको छ । यहाँ चौबिसै घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षभरि नै जलमै विराजमान रहनुहुन्छ भनिन्छ ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले उक्त मन्दिरका मूल पूजारी उपेन्द्र पाठकका हातबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । यहाँ महादेवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिट मुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्र सम्भव हुने गर्दछ । राष्ट्रपति भण्डारी पूजाअर्चनाका लागि यहाँ आउँदा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र, सो मन्दिरका मूल पुजारी र पदाधिकारी तथा स्थानीयले स्वागत गर्नुभएको थियो ।
जाजरकोटमा महको उत्पादन घट्यो
जाजरकोट, ६ मङ्सिर । नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उहाँ अहिले निराश हुनुभएको छ । सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएका उहाँ आम्दानी घटेपछि अहिले निराश हुनुहुन्छ । बुढा र पुन उदाहरणका पात्र हुनुहुन्छ । अहिले जिल्लाका ३५० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउछन् ।
गत असोज कात्तिक महिनामा भएको बढी वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताउनुभयो । मौरीलाई चरन क्षेत्रको अभाव, वन विनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको उहाँको भनाइ थियोे । विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्या पनि अर्को कारण हो ।गतवर्ष प्रतिधार्नी एक हजार ५०० मूल्य पर्ने मह यो वर्ष दुई हजार ५०० देखि तीन हजार पुगेको छ । उत्पादन घट्दा मूल्य वृद्धि भएको हो । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो वर्ष निराश भएका छन् ।


