योगेश भट्टराई-सचिवमा उठ्ने तयारी गरेको छु
चितवन, ८ मङ्सिर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताउनुभयो । उहाँले भन्नुभयो,“लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।” उहाँले अहिलेनै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने बताउनुभयो । एमालेको १०आँैं महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको उहाँको भनाइ थियो । उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उहाँले नारायणी नदी किनारमा गैँडाकोट तर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिनुभयो ।अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै उहाँले प्रतिनिधि र नेता यहाँ आउने क्रम सुरु भएको जानकारी दिनुभयो ।
नगरपालिकाद्वारा सुविधायुक्त सार्वजनिक शौचालय सञ्चालन
खलङ्गा, ८ मङ्सिर । जुम्लाको चन्दननाथ नगरपालिकाले सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको छ । सो नगरपालिका–५ स्थित कालेखोलीमा सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो ।चन्दननाथ नगरपालिका र गैरसरकारी संस्था एसएनभी नेपालको आर्थिक सहयोग र सूर्य सामाजिक सेवा सङ्घ जुम्लाद्वारा निर्मित सार्वजनिक शौचालय सञ्चालनमा पाएपछि यहाँका स्थानीयवासीदेखि बजार क्षेत्रमा आएका सर्वसाधारणले सेवा लिने नगरपालिका प्रमुख सेजुवालले बताउनुभयो । नगरपालिकालाई सार्वजनिक शौचालय निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग गरेको सूर्य सामाजिक सङ्घ जुम्लाका अध्यक्ष घनश्याम नगकरकेटीले बताउनुभयो ।शौचालयको दिगो व्यवस्थापन गर्नु महत्वपूर्ण भएकाले यहाँका स्थानीयवासीले यसलाई सुरक्षितरुपमा लामोमसयसम्म सञ्चालन गर्न आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका–५ मा मात्र नभई अन्य वडाहरुमा पनि यस्तै सुरक्षित शौचालय निर्माणमा एसएनभी नेपालले सहयोग गर्ने आशा राखेको नगरपालिका उपप्रमुख अप्सरादेवी महतले बताउनुभयो । शौचालयका लागि पानी र बत्तीको व्यवस्थापन नगरपालिकाले पहल गरिने जनाइएको छ । महिलाको समस्यालाई दृष्टिगत गरी कर्णालीकै नमूना, आधुनिक र व्यवस्थित सार्वजनिक शौचालय निर्माण भएको वडाध्यक्ष गोल्डेन कठायतले बताउनुभयो । रु ८५ लाखको लागतमा सार्जजनिक शौचालय निर्माण भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढुथापाले बताउनुभयो । शौचालय निर्माण गर्नुमात्र ठूलो कुरा नभएकाले यसको व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताउनुभयो । नगरपालिका–१०मा दश वर्षका लागि जग्गा लिजमा लिएर बजारबाट निस्कने फोहोरालाई व्यवस्थापन गर्ने ठाउँ निर्माण गरेर छिट्टै सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ ।


