अध्यक्ष यादव-कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन
चितवन, ११ मङ्सिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताउनुभएको हो । अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताउनुभयो । “कार्यपालिकाले हस्तक्षेप ग¥यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो मानिँदैन”, उहाँले भन्नुभयो, “कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहँुदैन । सुझाव सल्लाह दिएर यो समस्या हल होस् भन्ने कुरा अलग विषय हुन् ।”
अध्यक्ष यादवले प्रधानन्यायाधीशका विषयमा दलले भन्नुभन्दा पनि न्यायाधीश र अधिवक्ता बसेर यसको समाधान खोज्नुपर्छ भन्दै न्यायलयको आफ्नै पद्धति हुन्छ, न्यायलयमा अहिले देखिएको समस्या छिट्टै हल होस् र न्याय निरुपणको काम होस् भन्ने हाम्रो चाहना रहेको बताउनुभयो । न्यायपालिका आफँै एउटा संवैधानिक व्यवस्था भएको संस्था रहेको उल्लेख गर्दै उहाँले राजनीतिक सत्ता र शक्तिको प्रभावबाट यो संस्था स्वतन्त्र र अलग रहनुपर्छ भन्नुभयो । “अब चाँडै नै संसद् बोलाउनुपर्छ र यसले बिजनेस पनि पाउनुपर्छ”, उहाँले भन्नुभयो, “संसद् समक्ष धेरै विधेयक छन् । त्यसलाई पारित गरेर अघि बढ्नुपर्छ ।” संसद् बोलाउने अधिकार मन्त्रिपरिषद्को कार्यक्षेत्रभित्र पर्ने भएकाले अनुकूलता मिलाएर बोलाउन सकिने उहाँको भनाइ छ ।
पाल्पा कांग्रेस सभापतिमा श्रेष्ठ विजयी
रामपुर (पाल्पा), ११ मङ्सिर । नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ८९० मत ल्याई सभापतिमा विजयी बन्नुभएको छ । श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याउनुभएको छ । त्यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी हुनुभएको छ भने प्रतिस्पर्धी माधव नेपालले ५४३ र शङ्कर खनालले ३६४ मत पाउनुभएको छ । सचिव पदमा सन्तोष थापा मगरले ८०७, सुनिता अधिकारीले ७८५ मत ल्याई विजयी हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी हुमनाथ न्यौपानेले ३८२ र रमा पन्तले ४५५ मत पाउनुभएको छ । शुक्रबार भएको निर्वाचनमा दुई सहसचिवमा विष्णुकुमार थापाले ७४३ र हमिद अलिमियाँले ६४१ मत ल्याई विजयी हुनुभएको छ । कूल मतदाता सङ्ख्या एक हजार ३८६ मध्ये निर्वाचनमा एक हजार ३१३ मत खसेको थियो ।


