मुलुक बिकास गर्ने शिक्षा सम्बन्धि उपराष्ट्रपति पुनको धारणा
काठमाडौँ, १४ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभयो । “शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुनु हुँदैन, पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ, विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रुपान्तरण सम्भव छ”, उहाँले भन्नुभयो । सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
विश्व हिन्दू महासङ्घका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री रामचन्द्र अधिकारीले सामुदायिक विद्यालयको भौतिक सुधारसँगै प्राविधिक शिक्षाको सञ्चालनका लागि सुरुआत भएको महायज्ञलाई सफल बनाउन स्थानीय सरकारको मुख्य दायित्व रहेको बताउनुभयो । पूर्वसांसद रुपा महर्जन, चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सबैको साथ र सहयोग रहेको उल्लेख गर्दै विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक वातावरण तयार गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । महायज्ञ मूल समारोह समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले धार्मिक महायज्ञलाई सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका रूपमा आयोजना गर्न लागेको बताउनुभयो । सोमबारदेखि सुरु भएको महायज्ञ मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ । उक्त महायज्ञमा पण्डित वासुदेव घिमिरेले कथा वाचन गर्नुहुनेछ ।
मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै
कर्णाली, १४ मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार आज उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने अनुपस्थित रहने भएको छ । एमालेको मङ्सिर १० गतेदेखि चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन सौराह पुगेका कारण आफूहरु सहभागी हुन नसक्ने प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिनुभयो । मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भए पनि बैठक अगाडि बढ्ने उहाँको भनाइ छ ।


