भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउँदै
काठमाडौँ, १५ मङ्सिर ।कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताउनुभयो । यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत छ लाख मात्रा खोप आउने उहाँले बताउनुभयो । उहाँले नियमित रुपमा खोप आइरहेको बताउनुभयो । सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ । यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ । अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखाप्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो । उहाँका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लख ९६ हजार मात्रा खोप आइसकेको छ ।
कांग्रेस चितवनको अधिवेशन अन्योलमा
चितवन, १५ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो । कांग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाउनुभएका पोख्रेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो लाग्न सकेको छैन । पोख्रेलले स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केन्द्रिय निर्वाचन समितिलाई राजीनामापत्र बुझाउनुभएको छ ।
कांग्रेसको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा पोख्रेलले राजिनामा दिएसँगै जिल्लाको अधिवेशनमा अन्योलता छाएको हो । राजीनामा गर्नुअघि निर्वाचन समितिले आज मनोनयन दर्ता र १९ गते मतदान गर्न केन्द्रिय निर्वाचन समितिलाई सिफारिस गरेको थियो । कार्यतालिका अनुसार कामअघि बढ्नुपर्ने समयमा निर्वाचन अधिकृतको राजीनामाले अन्योल छाएको नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताउनुभयो । एक विज्ञप्ति जारी गर्दै उहाँले अचानक निर्वाचन अधिकृत पोख्रेलको राजीनामा आउनुले अचम्मित् र गम्भीर बनाएको बताउनुभयो


