आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

भरतपुर, १८ मङ्सिर । चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नुहुनेछ । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प्रणाली लागू गरिएको छ । जसका लागि यहाँ क्लिक गर्नुहोस् वा चितवन यातायात डट बागमती डट जिओभी डट एनपी मा लगइन गरी आफ्नो विवरण भरेर टोकन लिन सकिने जनाइएको छ । सोही टोकन र समयका आधारमा सेवा लिन सकिने कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख पौडेलले छिट्टै पुरानो प्रकारका लाइसेन्सको पनि नवीकरण सुरु गर्ने बताउनुभयो । अहिले प्राविधिक समस्याका कारण स्मार्ट लाइसेन्स मात्रै नवीकरण थालिएको उहाँले बताउनुभयो । यस्तै आउँदो तीन÷चार महिनाभित्रमा नयाँ लाइसेन्ससमेत जारी गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । चितवनमा विसंं २०५१ देखि पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालयको स्थापना भएको थियो । त्यतिबेला अस्थायी रुट इजाजत मात्रै दिने गरिएको थियो । सोही बेला सातामा एकदिन मात्रै वीरगञ्जबाट एक जना अधिकृत र एक जना मेकानिकल सुपरभाइजर आएर जाँचपास गर्ने व्यवस्था थियो । विसं २०६२ मा सेवा विस्तार भएर वीरगञ्ज कार्यालयको शाखाको रुपमा स्थापित यस कार्यालयबाट बाटो इजाजत, नियमित जाँचपास, कर जरिवाना, अस्थायी रुट इजाजतसम्बन्धी काम थपिएको थियो । विसं २०७१ साउन ३० गतेबाट स्थायी कर्मचारीको दरबन्दीसहित कार्यालयको कामलाई चुस्तदुरुस्त बनाउने प्रयास थालिएको थियो ।

विसं २०७५ देखि सङ्घीयता लागू भएपछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेर यस कार्यालयलाई अघि बढाइयो । त्यति बेलासम्म सवारी साधनको बिलबुक नवीकरण र कर तिर्ने, रुट इजाजत लिने, पटकेलगायतका सेवा सञ्चालन भएको थियो । विसं २०७७ वैशाख ६ गते सवारी साधन दर्तासमेत विस्तार गर्ने निर्णयबमोजिम २०७८ साउन २८ गतेबाट सवारी साधन दर्ताको प्रक्रिया सुरु भएको छ । भदौ ३ गते सवारी चालक अनुमतिपत्रको समेत कार्य गर्ने गरी मन्त्रालयले कार्यादेश दिएको थियो । त्यसपश्चात् यही मङ्सिर ५ गतेबाट सवारी चालक अनुमतिपत्र नवीकरण ट्रायलको रुपमा सुरुआत गरिएको थियो ।

डेढ अर्बको लगानीमा अस्पताल
चितवन, १८ मङ्सिर। मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो । अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । दुई सय जना शेयर धनी रहेको यस अस्पतालको संस्थागत शेयर धनीका रुपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी रु एक अर्ब ५० करोड पुग्ने छ । उहाँले भन्नुभयो, “जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुने छ।”

अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ । उहाँका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ । मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको छ । अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार १३ वर्षअघि रु पाँच करोडको लागतमा नारायणगढमा स्थापना गरिएको यस अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उहाँको भनाइ छ । अस्पतालले जग्गा आफैँले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले जानकारी दिनुभयो । कतिपय उपकरण मेडिकल कलेजमा समेत नभएका आधुनिक उपकरण राखेर सेवा दिने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖