निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाइरहेको छ- मन्त्री भुसाल
ललितपुर, १८ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाल पाटन दरबार स्क्वारस्थित स्थानीय समुदायको पहलमा निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतमासमेत प्रतिष्ठा बढाइरहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सो मन्दिरमा जनश्रमदानबाट झिँगटी हाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुहिकरूपमा गर्न चाहे हरेक कुरा सम्भव हुने बताउनुभयो । मन्त्री भुषालले भन्नुभयो, “ छ वर्षअघि भूकम्पले क्षति पु¥याएको पाटनको यस सम्पदामा ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराले मूर्तरुप लिएकाले मन्दिर लामो समय त्यसै जीर्ण अवस्थामा रहनु परेन ।” जनताको सहयोगमा अघि बढिरहेको निर्माणको कामले मुलुकका हरेक व्यक्तिलाई कर्तव्य बोधसमेत गराएको उहाँको भनाइ थियो ।
सङ्घका पूर्व अध्यक्ष कृष्णलाल महर्जनले आज बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म सो काम गर्न ललितपुरका जनताको सहभागिता रहने बताउनुभयो । मन्दिर पुनःनिर्माणमा प्राविधिक सहयोगको जिम्मा लिएको काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) का निर्देशक डा रोहित रञ्जितकारले झिँगटी छाउने काम अझै १०–१२ दिन लाग्ने बताउनुभयो ।
विसं २०७२ को गोरखा भूकम्प र पटकपटक आएको परकम्पका कारण मन्दिरको दलिन, बिम र माथिल्लो तलाको गारो थाम्ने थामसमेत भाँचिएर चिराचिरा परेको थियो । तीनतले मन्दिरको सबैभन्दा माथि गजुर हाल्ने अनि सोही तलामा सुन लेपन गरिएको तामाको पाता छाइएको र दोस्रो तलामा झिँगटी छाउनेसमेत सकिएकामा हाल बाँकी रहेको तलाको काम अघि बढाइएको हो ।
सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले झिँगटीको काम सकेर मन्दिरको तोरण आदि सम्पूर्ण सरसफाइ पुसभित्र सम्पन्न गरिने जानकारी दिनुभयोे । चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोहरका रुपमा प्यागोडा शैलीमा निर्माण भइरहेको छ ।सो कामका लागि आज मन्दिरमा स्थानीय जनताका साथै विभिन्न जातीय समाज र विभिन्न सङ्घसंस्थाका व्यक्तिसमेत सहभागी थिए । विश्वसम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा उक्त मन्दिर छ ।
राष्ट्रिय परिचयपत्रका लागि साढे पाँच हजारको विवरण
बैतडी, १८ मङ्सिर । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि हालसम्म पाँच हजार ४६३ जनाको विवरण सङ्कलन गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा उक्त कार्य जारी रहेकामा बाँकी चार हजार १८९ पुरुष र एक हजार २७४ महिलाको विवरण सङ्कलन भएको कम्प्युटर अपरेटर जगदीश भट्टले जानकारी दिनुभयो । यसअघि सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले आफ्नो विवरण दिएर उक्त कार्यको सुभारम्भ गर्नुभएको थियो । पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण सङ्कलनको काम भइरहेकोे र पछि विस्तारै जिल्लाका १० वटै स्थानीय तहका ८४ वडाबाटै सङ्कलन कार्य सुरु हुने जनाइएको छ । राष्ट्रिय परिचयपत्रले ब्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले अनिवार्य रुपमा पत्र बनाउनुपर्ने प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।
विवरण सङ्कलन गरेर ल्याएपछि त्यसैको आधारमा परिचय पत्र बाँडिने छ । उहाँले भन्नुभयो, “नागरिकता पाएकै दिन सबै कागजपत्र पेस गरेमा परिचयपत्रका लागि आवश्यक विवरणभरी राष्ट्रिय परिचयपत्र विवरण भर्ने व्यवस्था मिलाएका छाँै ।”बहुउपयोगी प्रमाणपत्रका रुपमा रहेको परिचय पत्र भएकाले अन्य परिचय पत्र साथमा राख्नुपर्ने झन्झट नहुने हुँदा विवरण दिन नहिचकिचाउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गर्नुभयो । । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्तिलाई आफ्ना नागरिकता र बुबा आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । दश अङ्कको नम्बर रहेको परिचय पत्रमा नागरिकताका सबै विवरणका साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरणका आधारमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् ।


