भारतमा थप आठ हजार ६०३ जना कोरोना सङ्क्रमित
नयाँदिल्ली,१८ मङ्सिर । भारतमा हिजो शुक्रबार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको छ । शुक्रबार कोरोना सङ्क्रमणबाट ४१५ जनाको मृ,त्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ५३० पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । गएको २४ घण्टामा भारतमा आठ हजार १९० जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ५३ हजार ८५६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।
राप्रपाः नयाँ कार्यसमितिका लागि मतदान सुरु
काठमाडौँ, १८ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ । यही मङ्सिर १५ देखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । सभागृहमा शुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिनुभएको छ ।
बाँकी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला हुनुपर्ने व्यवस्था गरिएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । निर्वाचनका लागि देशभरबाट करिब चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् ।
पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो पक्षको नेतृत्व चयनका लागि मतदातासँग आग्रह गरेका छन् । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मतदानको व्यवस्था छ । अध्यक्ष पदको परिणाम आउन केही समय लाग्ने भए पनि विद्युतीय मतदानको परिणाम आजै रातिसम्म आउने अपेक्षा गरिएको छ ।


