मन्त्री आले-रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु

काठमाडौँ, १८ मङ्सिर ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताउनुभएको छ । श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरका रूपमा रहेको रामजानकी मन्दिरलाई जतिसक्दो छिटो विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आफूले भरपूर कोसिस गर्ने बताउनुभएको हो । विश्वभरका हिन्दूको आस्थाको केन्द्रका रूपमा रहेको प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल भइरहे पनि त्यसले मूर्तरूप लिनसकेको छैन । मैथिल सभ्यताका अगुवाहरूले जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन लामो समयदेखि पहल गर्दै आइरहेका छन् ।

रामजानकी मन्दिरमा भगवान् श्रीरामको जन्मका अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सवलगायत विविध सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । यही मङ्सिर २२ गते विवाह पञ्चमी परेको छ । तीन वर्ष अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह पञ्चमीका दिन जानकी मन्दिरको पूजाअर्चना गर्नुभएको थियो ।द्वापार युगमा अयोध्याका राजकुमार श्रीराम र मिथिलाका राजा जनककी सुपुत्री जानकीको विवाह भएको दिनलाई विवाह पञ्चमीका रूपमा धुमधामका साथ मनाइन्छ । विवाह पञ्चमीका दिन जनकपुरधाममा विशेष मेला लाग्ने गर्छ । विवाह पञ्चमीका दिन भारतबाट लाखौँ भक्तजन जनकपुरको जानकी मन्दिर दर्शनका लागि आउने गरेका छन् ।

मन्त्री आलेले हजारौँ वर्ष पुरानो मिथिला सभ्यता कला, सङ्गीत, भाषा, बेषभूषाका रूपमा निकै धनी रहेको उल्लेख गर्दै रामजानकी मन्दिरको संरक्षण र विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “रामजानकी मन्दिरको सौन्दर्यकरण, संरक्षण र विकास निर्माणमा संस्कृति मन्त्रालयको पूर्ण सहयोग रहन्छ”, उहाँले भन्नुभयो । सो अवसरमा मन्त्री आलेले मिथिला संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न व्यक्तिलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा समाजका पदाधिकारीले प्रदेश नं २ का पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरेका थिए ।

३२ टन चिया नष्ट गरिँदै
वाग्मती, १८ मङ्सिर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व्यवस्थापक र एक सप्लायर्सलाई प्रचलित कानून बमोजिम जनही रु १० हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

कम्पनीले म्याद नाघेको सिटिसी नाम उल्लेख र अन्य नाममा चिया प्रशोधन गरी ‘रेड लेवल व्राण्ड’का रुपमा बजारमा बिक्री गर्ने तयारीको चिया भण्डारण गरेर राखेको थियो । प्रशासनले सो जानकारी प्राप्त गर्ना साथ कम्पनीमा अनुगमन गरी शिलबन्दी गरेको थियो । प्रशासनका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तिको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो । गतभदौ १५ गते जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीसहितको टोलीले सो चियापत्ति नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।