आगामी निर्वाचनमा माओवादी विसं २०६४ कै अवस्थामा फर्कने -महरा
रसुवा, २० मङ्सिर ।पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताउनुभएको छ ।उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उहाँले अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताउनुभएको हो । अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उहाँले आदीवासी, जनजाति, घले, गुरूङ, सबैक्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताउनुभयो । माओेवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उहाँले स्थानीय समुदाय माझ आग्रह पनि गर्नुभयो ।
टुक्रिएर गएका डा बाबुराम भटृराई, बैध, विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टृै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पु¥याउने महराले विश्वास व्यक्त गर्नुभयो । उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो । महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गर्नाका साथै कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमासमेत जानकारी लिनुभयो ।
स्याङ्जामा पाँच जोन निर्धारण गरी परियोजना सञ्चालन
वालिङ, २० मङ्सिर ।स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँचवटा जोन निर्धारण गरी परियोजना सञ्चालन गरिएको छ । जिल्लामा हाल सुन्तला र कफी गरी दुई सुपरजोन, मसलाबाली, आँप लिची र भैँसी गरी तीन जोन निर्धारण गरी काम अगाडि बढाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो ।प्रमुख लम्सालका अनुसार २०७३ सालको साउनदेखि पुतलीबजार नगरपालिकाका आठ वडा, भीरकोटका छ वडा, अर्जुनचौपारीका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडा गरी १७ वडामा कूल एक हजार १०० हेक्टर क्षेत्रफलमा सुन्तला जोन निर्धारण गरी काम सुरु गरिएको थियो । सत्र वडामा मात्रै सीमित रहेको सुन्तला जोनलाई २०७५÷७६ मा विस्तार गरी पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका १९ वटा वडामा कूल एकहजार १५० हेक्टर क्षेत्रफल बनाइएको थियो ।
हाल सुन्तला सुपरजोनको कार्यक्षेत्र विस्तार गरी कम्तीमा दश हेक्टर क्लष्टरमा सुन्तलाखेती हुने स्याङ्जाका सबै वडालाई समेटेर कूल एक हजार ५८५ हेक्टर क्षेत्रफलमा विस्तार गरिएको कार्यालय प्रमुख लम्सालले जानकारी दिनुभयो ।त्यस्तैगरी २०७५÷७६ मा पुतलीबजारका १४ वटै वडा, भीरकोटका वडा नं ५ र ८ तथा गल्याङका वडा नं २, ७ र ११, फेदीखोलाका वडा नं १, २, ३ र ४, आँधीखोलाका वडा नं २, ३, ४ र ६, अर्जुनचौपारीका वडा नं १, २ र ६, बिरुवाका वडा नं १ र ४, वालिङका वडा नं ४ र १४ लाई समेटेर कफी सुपरजोन निर्धारण गरिएको छ । कफी सुपरजोनअन्तर्गत हाल ११५ हेक्टर क्षेत्रफल रहेको छ ।
विसं २०७६÷७७ मा गल्याङ नगरपालिकाका ११ वडालाई समेटेर मसलाबाली जोन निर्धारण गरिएको थियो । हाल कार्यक्षेत्र विस्तार गरी कम्तीमा १० हेक्टर क्लष्टरमा अदुवा तथा बेसारखेती हुने गल्याङ, वालिङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाका सबै वडालाई समेटेर कूल २४५ हेक्टर क्षेत्रफलमा मसलाबाली जोन सञ्चालन गरिएको कार्यालय प्रमुख लम्सालले बताउनुभयो ।विसं २०७८÷७९ मा चापाकोट नगरपालिकाका १० वडालाई समेटेर आँप÷लिची जोन निर्धारण गरिएको छ । वालिङ नगरपालिकाका १४ वटै वडा, गल्याङ नगरपालिकाका छ वडा र भीरकोट नगरपालिकाका छ वडालाई समेटेर चालू आर्थिक वर्षको सुरुआतदेखि नै भैंँसी जोन कार्यक्रम अगाडि बढाइएको छ ।
विशेष गरी प्रमुख कृषि उपजको विशिष्टकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजागारीका अवसर सिर्जना गर्ने र बहुसरोकारवाला निकायबीचको कार्यमूलक समन्वयमार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने मुख्य उद्देश्यले परियोजना सञ्चालन गरिएको हो ।विसं २०७३ साउनदेखि सुरु भएको परियोजना २०८२ असारसम्म दशवर्ष सञ्चालन हुने भएको हो । दश वर्षसम्म सञ्चालन हुने परियोजना अवधिभर कूल रु एक खर्ब ३० अर्ब ७४ करोड २० लाख लाग्ने अनुमान गरिएको छ ।


