कांग्रेसले कोरोना महामारीका बेलामा महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : सभापति देउवा

काठमाडौँ, २० मङ्सिर ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँले कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताउनुभएको हो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानबमोजिम एक पटक पुनः सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह समेत गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक पुनः सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गर्नुभयो ।

आफू अहिले गठनबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा पुनः सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उहाँको भनाइ थियो । साथै उहाँले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको र त्यसपछि विधानले नै सभापति बन्न रोक्ने अवगत गराउनुभयो । प्रधानमन्त्री देउवाले फरक प्रसंगमा सत्ता गठबन्धन दलहरुबीच चुनावी गठनबन्धन तत्काल राष्ट्रियसभा सदस्य निर्वाचनसम्मका लागि तय भएको र बाँकी निर्वाचनमा के गर्ने भन्ने सम्बन्धमा छलफल हुन बाँकी रहेको बताउनुभयो ।

कांग्रेस महाधिवेशनः काठमाडौँ आउन थाले प्रतिनिधि
काठमाडौँ, २० मङ्सिर ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाडौँ आउने क्रम सुरु भएको छ । पार्टीको १३औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । जहाँनिया राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो ।
उक्त सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रुपमा लिइन्छ । उक्त अधिवेशनले तत्कालीन अवस्थामा टङ्प्रसाद आचार्यलाई सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो । पार्टी स्थापना भएको झण्डै आठ दशकपछि यही मङ्सिर २४ देखि २६ गतेसम्म १४औँ महाधिवेशन काठमाडौँमा हुँदैछ ।

नेपाली कांग्रेस बागलुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल महाधिवेशनमा भाग लिन आइतबार साँझ नै काठमाडौँ आइपुग्नुभएको छ । पार्टीको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न लाग्नुभएका मन्त्री कँडेल कांग्रेसलाई सशक्त पार्टी बनाउनका लागि आफूले उम्मेद्वारी दिन लागेको बताउनुहुन्छ । “तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशको विकास गर्नका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको हुँ,”– उहाँ भन्नुहुन्छ । गोरखा कांग्रेसका पूर्व सभापति हरिबहादुर घले पनि महाधिवेशनमा भाग लिन शनिबार राति काठमाडौँ आइपुग्नुभएको छ । दुई कार्यकाल गोरखा कांग्रेसको कुशल नेतृत्व गरिसक्नुभएका घले १४औँ महाधिवेशनमा अल्पसङ्ख्यक कोटाबाट केन्द्रीय सदस्य बन्ने दाउमा हुनुहुन्छ । घलले आजै गोरखा कांग्रेसका केन्द्रीय सदस्यको उपस्थितिमा उम्मेद्वारी घोषणा गर्दै हुनुहुन्छ ।

कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएसँगै चार दिनपछि सुरु केन्द्रीय महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका स्थानमा होटलसमेत बुकिङ गरिसकेको बताएको छ । मुलुक सङ्घीयतामा गएपछि कांग्रेसले पहिलोपटक वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न लागेको हो । कांग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितजङ्ग शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित हुनुभएको छ ।

यस्तै ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन समेत सम्पन्न भइसकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे भोलिसम्म सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने बताउनुहुन्छ, “हिजोसम्म विवाद रहेका सर्लाहीका चार र महोत्तरीको एक निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नेगरी निर्वाचन समितिले काम गरिरहेको छ”, उहाँ भन्नुहुन्छ । कांग्रेसको महाधिवेशनमा चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने संयोजक घिमिरेले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।