महाधिवेशनपछि एमाले थप प्रभावशालीः नेता ज्ञवाली
काठमाडौँ, २३ मङ्सिर ।नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताउनुभएको छ ।प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले महाधिवेशनको उद्घाटनसत्रमा नारायणी तीरमा देखिएको ठूलो जनसहभागिता र बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली देखिएको बताउनुभयो । मुलुकमा राजनीतिक निकासका लागि ताजा जनादेश नै विकल्प भएको एमालेको ठहर भएको जनाउँदै उहाँले गठबन्धन सरकारभित्रको अन्योल र न्यायालयमा देखिएको विवादले एमालेको धारणालाई सही सावित गरेको स्पष्ट गर्नुभयो ।
उहाँले यही मङ्सिर २८ गतेदेखि हुने सङ्घीय संसद्को अधिवेशनमा एमालेले अवरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । नेता ज्ञवालीले पार्टीले कारबाहीको सिफारिस गरेका सांसदहरूलाई कायम राखेर सदन चल्न नसक्ने अडान व्यक्त गर्नुभयो । उहाँले न्याय क्षेत्रको समस्या समाधान कुनै व्यक्तिलाई कायम राखेर वा हटाएर मात्रै नहुने भएकाले न्याय क्षेत्र सुधारका लागि दिइएको सुझाव प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित
काठमाडौँ, २३ मङ्सिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रबारदेखि सुरु हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन पारित गरेको छ । बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको हो ।बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकपछि विधान सम्बन्धमा जतिपनि निर्णय भएका छन् तिनलाई पनि केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिनुभयो । प्रवक्ता शर्माले महाधिवेशनमा भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको जानकारी दिनुभयो । उहाँले शुक्रबार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थितरुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिनुभयो । आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित हुनुभएको बुझिएको छ ।


