फेरि बढ्यो सुन को मुल्य
काठमाडौँ, २६ मङ्सिर। सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १९० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।
पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव
पोखरा, २६ मङ्सिर । अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो । रेवानका अध्यक्ष लक्षमण बरालले भन्नुभयो “कोरोनाको मारमा परेको पर्यटनलाई चलायमान बनाउन र पोखरालाई नयाँ वर्षको गन्तव्यस्थलका रूपमा सडक महोत्सवको आयोजना गर्दै आएका छौँ, यस वर्ष पनि महोत्सवले पनि आन्तरिक पर्यटक पोखरा आउने विश्वास लिएका छौँ ।”
दुई दशकभन्दा बढी समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पु¥याउँदै आएको सडक महोत्सव विभिन्न राजनीतिक अस्थिरता, विसं २०७२ को भूकम्प, नाकाबन्दीजस्ता समस्याका बाबजुद पनि ‘सडमै खाऊँ सडकमै रमाऊँ’ भन्दै २३आँै संस्करणको तयारीमा जुटेको महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिनुभयो । उहाँले गत वर्ष कोभिड–१९ को महामारीमा पनि स्वास्थ्य सतर्कतासहित महोत्सव आयोजना गरेको जनाउँदै अहिले कोरोनाको त्रास कम हुँदै गएको र अधिकांशले खोपसमेत लगाएकाले महोत्सव अझ सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको र सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले पोखरा सुरक्षित र खुला भन्ने सन्देश पनि महोत्सवबाट जाने बताउनुभयो । आयोजकका अनुसार पोखरा सडक महोत्सव कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै पोखराको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धनको उद्देश्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन गरेर मनाइने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, वेटर रेस, टग अफ वारजस्ता प्रतियोगिता व्यवस्था गरिएको छ । पोखराको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराई, सचिव भीष्मराज पौडल र सहकोषाध्यक्ष रोशनजङ्ग कार्की, सहसंयोजक रहने गरी विभिन्न उपसमिति गठन गरिएको छ ।


