लोकतन्त्रलाई सुढृढ बनाउन पार्टी बलियो हुनुपर्छ
काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा भाग लिन यहाँ आउनुभएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभएको हो । “पार्टीभित्रको निर्वाचनमा हारजित हुन्छ, प्रजातन्त्र र पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले पार्टीभित्र अनुशासन र सम्मान गर्ने परम्पार कामय राख्नुपर्नेमा जोड दिनुभयो ।सभापति देउवाले आफूहरु सँगसँगै लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष र जेलजीवन बिताएको प्रङ्सँग उल्लेख गर्दै महान् नेताले बोलाएको चियापानमा आउन पाउदा आफूलाई भाग्यमानी ठानेको बताउनुभयो । पार्टीका वरिष्ठ नेता पौडेलले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्धमा आफ्नो लडाइँ सधँै जारी रहने बताउनुभयो । “मुलुकमा स्थायित्व, विकास र सुशासन दिन म सधैँ तत्पर रहन्छु, पार्टीको महाधिवेशनमा उम्मेदवार नभए पनि राजनीतिबाट आफूलाई अलग राखेको छैन,”– उहाँले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले आफू निष्ठा र प्रतिबद्धतामा विचलित नभएको बताउँदै आफ्नो विवेकको सही प्रयोग गर्न मतदातालाई आग्रहसमेत गर्नुभयो । उहाँले आसन्न तीन तहकै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने कठिन चुनौतीलाई सामना गर्न पार्टीभित्र एकता, अनुशासन र सुढृढ सङ्गठन विस्तारको आवश्यकता रहेको बताउनुभयो । पार्टी सभापतिका अर्को उम्मेदवार डा शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा निर्वाचन भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । “पार्टीभित्र सभापति र वरिष्ठ नेता दुबै सम्मानित नेता हुनुहुन्छ, उहाँलाई सम्मान, इज्जत र आदर गर्नुपर्छ,”– उहाँले भन्नुभयो । उहाँले अनुशासित पार्टी निर्माणका लागि सबै लाग्नुपर्ने बताउनुभयो । नेता कोइरालाले अन्तरआत्मा के भन्छ, त्यहिअनुसारको विवेक प्रयोग गरेर मतदान गर्नसमेत सबै प्रतिनिधिलाई आग्रह गर्नुभयो ।
कांग्रेस सभापतिमा देउवालाई नेता सिंहको समर्थन
काठमाडौँ, २८ मङ्सिर ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी प्रकाशमान सिंहले समर्थन गर्नुहुने भएको छ ।आज विहान नेता सिंहको निवास चाक्सीबारीमा उहाँहरुबीच भएको भेटवार्तामा सो सहमति भएको नेता सिंहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अगामी दिनमा पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने र पार्टीमा देखिएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने सहमति भएको छ ।”
महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुन लागेको हो । महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको छ। मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कुल ७६ मत बदर भएको थियो ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।


