दोस्रो चरणको निर्वाचनमा आफू सभापतिमा

काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापति उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू सभापतिमा निर्वाचित हुने बताउनुभएको छ ।सभापतिको मतगणनाको पहिलो चरणको चुनावी परिणामपछि आज पत्रकार सम्मेलन गरेर नेता कोइरालाले आफू दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा विजयी हुने दाबी गर्नुभयो । उहाँले निर्वाचनको परिणाम जे जस्तो आए पनि आफूले चुनावी नतिजा स्वीकार गर्ने बताउनुभयो ।कांग्रेसको १४औँ महाधिवेशनमा सोमबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । सभापतिका उम्मेदवारको बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी दुई हजार २५८ मत प्राप्तगर्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनःमतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।दोस्रो चरणको निर्वाचनको मतदान दिउँसो ३ः३० बजे सुरु हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रधानमन्त्री देउवा र सिंह पुनःमिलनमा गृहमन्त्री खाँण र नेता बलायरको पहल
काठमाडौं, २८ मङ्सिर । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको सक्रियतामा १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि हुने पुनः मतदानमा निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंहले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने हुनुभएको छ । कांग्रेस सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले आवश्यक बहुमत नल्याएपछि दोस्रो चरणमा निर्वाचन हुने निश्चित भएको र त्यसका लागि यो निर्वाचनमा पहिलो र दोस्रो स्थानमा मत ल्याएका उम्मेदवार प्रधानमन्त्री देउवा र नेता डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस लगत्तै गृहमन्त्री खाँण र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख वीरबहादुर बलायर आज बिहान सभापतिका प्रत्यासी प्रकाशमान सिंहलाई भेट्न सिंह निवास चाक्सीबारी पुग्नुभयो र पुनः मतदानमा देउवालाई सघाउन आग्रह गर्नुभयो । उहाँहरुले सिंहलाई मिलेर अघि बढ्न र पार्टीलाई सशक्त बनाउन अबको निर्वाचनमा देउवालाई सहयोग गर्न प्रस्ताव राख्नु भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।उहाँँहरुको सो प्रस्तावपछि सिंहले आफूले आफ्ना टिमका साथीहरूसँग छलफल गरेर निर्णय गर्ने बताउनुभयो । त्यसपछि प्रधानमन्त्री देउवा पनि सिंह निवास चाक्सीबारी पुगेर सहमति गर्नुभयो । त्यसपछि नेता सिंहले अबको पुनः मतदानमा देउवालाई समर्थन गर्ने बताउनुभएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।