केपी ओली ‘घरको न घाटको’ हुनेवाला थिए, तर सेटिङ गरेर बचेः प्रचण्ड
काठमाडौं, ५ पुस /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेटिङमार्फत एमाले अध्यक्ष केपी ओलीको राजनीति बचाएको दाबी गरेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको दिन ५ पुसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एउटा सेटिङअन्तर्गत ओलीको राजनीति बचाइएको बताएका हुन् ।
निर्वाचन आयोगले कानुनअनुसार काम गरेको भए ओली पार्टीविहीन हुने उनको दाबी छ । आयोगले कानुनअनुसार निर्णय लिएको भए ओली पार्टीविहीन, चुनाव चिन्हविहीन बन्नुहुने थियो,’ प्रचण्डले भने, ‘तर, एउटा सेटिङअन्तर्गत उहाँलाई बचाइयो ।’ प्रचण्डले कसले कोसँग कस्तो सेटिङ गरेको हो भन्नेबारेमा केही खुलाएनन् ।
ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन भएको दाबी गरेका प्रचण्डले ओली अहिले प्रतिगमनकै बाटोमा रहेको आरोप लगाए ।
राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचन : सुरेन्द्र पाण्डे
कुलप्रसाद काफ्ले/चितवन, ५ पुस । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताएका छन् । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक र आर्थिक रुपले देशको स्थिति गम्भिर अवस्थामा पुगिसकेको बताए ।
देशको तीनवटै प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले वर्तमान संकटको समाधान लोकतान्त्रिक प्रणालीबाट नखोजिए गम्भीर संकट पैदा हुने भन्दै वर्तमान संकटको समाधान निर्वाचनबाटै हुने उनले बताए ।‘कुनै पनि क्षण देशले निर्वाचनतर्फ जान खोजेको हो कि भन्ने देख्छु’, उनले भने, ‘अर्थतन्त्रमा केहि गम्भीर नकारात्मक लक्षणहरू पनि देखापरेका छन् ।’ १४ महिनालाई धान्ने भनिएको वैदेशिक मुद्राको संचिती सात महिनामै अपुग देखिएको उनले बताए ।
आयात तीव्र रुपमा बढेर व्यापार घाटा चुलिएको र रेमिट्यान्स घटेको भन्दै उनले अर्थतन्त्रका सबै इन्डिकेटर खराब भइसकेको उनले बताए । ‘पर्याप्त वैदेशिक मुद्राको संचिती भएन भने अनेक सर्तमा ऋण लिनुपर्ने अवस्था आउँछ । त्यसका लागि धेरै मूल्य चुकाउनुपर्छ’, उनले भने ।सरकारले भर्खर मात्रै ४० अर्ब ऋण लिन खोजेको भन्दै त्यसले मात्रै नपुग्ने उनले बताए । ‘पाँच महिनामा पुंजिगत खर्च ६ प्रतिशत मात्रै छ । सरकारले राजस्व लिइरहेको छ । तर, खर्च गर्न सकेको छैन, जसका कारण बैंकहरूमा तरलताको अभाव भएको छ’, उनले भने ।
‘एमसिसीको विषयमा गठबन्धनभित्रै विमति’
मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी)को विषयमा सत्तारुढ गठबन्धनभित्रै विमति रहेको पाण्डेले बताए । प्रधानमन्त्री र अन्य दलहरु बीच नै गम्भिर असहमति देखिन्छ । ‘यसले नेपालको राजनीतिक संकटलाई थप गहिराउने हो कि भन्ने अवस्था देखा पर्दैछ’, उनले भने ।
एमसीसीको विषयमा सत्तारुढ दलभित्रै असमझदारी रहेकाले सत्तारुढ दलले धारणा बनाएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए । एमसीसीको अन्याेलताले वैदेशिक सहायताको विषयमा अमेरिकासँगको सम्बन्ध कमजोर हुन सक्ने पनि उनले बताए । वर्तमान अवस्थाको समाधान बुद्धिमता ढंगले गर्नुपर्ने भएपनि सरकार त्यसतर्फ नलागेको उनको भनाइ छ । संकट समाधानका लागि एमालेले सहि ढंगले सहयोग गर्ने उनले बताए ।


