भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द
काठमाडौँ, २६ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । “हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको सङक्रमणकोसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ”, जारीे विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले बिदाको उक्त अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाउन पनि अभिभावकमा अनुरोध गरेको छ । बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका–२०७७ ले गरेको व्यवस्थाबमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ । मन्त्रालयले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना हुनेगरी जेट आकारमा बसाईं व्यवस्था गरी सञ्चालन गर्नसमेत सुझाएको छ ।
सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
सञ्चिता घिमिरे,काठमाडौँ, २६ पुस । यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो ।
विभागले गत मङ्सिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो । उहाँका अनुसार विभिन्न स्थानमा इम्बोस्ड नम्बर प्लेट भएनभएको हेर्न गेट बनाउने काम अघि बढाइनेछ । उहाँले भन्नुभयो, “नयाँ र पुरानो सबैमा गरी २५÷२६ सवारीसाधन सबैमा अनिवार्य गरिनेछ ।”नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड अनिवार्य जडानका लागि तयारी अघि बढाइएको प्रवक्ता डा भुषालले बताउनुभयो । कम्पनीले प्लेट छापेर यातायात व्यवस्था कार्यालयमा पठाइरहेको छ । उहाँले भन्नुभयो, “अबको एक वर्षभित्रमा सबै सवारीसाधनमा जडान गरिसकिने योजना छ ।”
पहिले अदालतमा मुद्दाका कारण र पछिल्लो समय कोभिडका कारण उच्च सुरक्षासहितको सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट) को कार्यान्वयन सुस्त भएको हो । विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पोरेसन) सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो ।
गत जेठमा अवधि सकिएकामा केही समय पहिले मात्रै अवधि थपिएको हो । प्रविधियुक्त सो नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपाराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ । सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचनाप्रविधि पूर्वाधारसमेत निर्माण गरिने उल्लेख थियो । आधुनिक र वैज्ञानिक नम्बर प्लेट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरिएको थियो ।सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारी धनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आवद्ध गराउन र सवारीसाधनका लागि कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रमलगायत सफ्टवेयर निर्माण गर्ने उल्लेख थियो । सो सफ्टवेयर तयार भएर सञ्चालनमा आइरहेको छ ।
त्यस्तै नम्बर प्लेट छपाइका लागि प्रयोग हुने मेसिनरी उपकरण जडान तथा सञ्चालन गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख थियो । सडक विभागसँगको समन्वयमा ‘स्टिकर’ वा ट्यागजडित सवारीसाधनको विद्युतीय अनुगमनका लागि १० स्थानमा गेट निर्माण गरिनेछ । काठमाडौँ उपत्यकामा नागढुङ्गा, जगाति, नागार्जुन, फर्पिङ, जोरपाटी र उपत्यकाबाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर तथा अत्तरियामा गेट निर्माण हुनेछ ।संविधानअनुसार देवनागरी लिपीमा लेखिने नेपाली भाषा नै सरकारी कामकाजको भाषा भएकाले नम्बर प्लेटमा नेपाली अक्षर हुनुपर्ने माग गर्दै विसं २०७४ फागुनमा रिट दर्ता गरिएको थियो । सो मुद्दामा अदालतले अन्तरिम आदेश दिएकाले नम्बर प्लेट जडान रोकिएको थियो ।
उक्त मुद्दामा रिट खारेज गरेपछि पुनः अघि बढाउन बाटो खुलेको थियो । अदालतले छिमेकी देशले पनि इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा नै प्रयोग गरेको र नेपालको छिमकी देशसँग अन्तरदेशीय पारवाहन सम्झौता भएकाले अङ्गेजी भाषाको प्रयोग अनुपयुक्त नहुने जनाएको थियो । भाषाविद्हरुले सो नम्बर प्लेट नेपाली भाषामा नै हुँदा उपयुक्त हुने बताउँदै आएका छन् ।


