फोनिज प्रदेश १ अध्यक्षमा लामा चयन
विराटनगर, २९ पुस/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा चयन भएका छन् । फाेनिज प्रदेश १ काे दाेस्राे प्रादेशिक अधिवेशनले लामाे नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएकाे अधिवेशनले उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल मगर तथा महासचिवमा सुसन राईलाई चयन गरेकाे हाे । सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् ।
लेखा समिति संयोजक महेन्द्र मादेन रहेका छ्न् । अनुशासन समिति संयोजकमा वीरु पापो लिम्बु चयन भए ।
टेलिकमकाे टावर सञ्चालनमा आएपछि महोत्तरीको उत्तरी क्षेत्रमा खुसियाली
विशाल बस्नेत/महोत्तरी, २९ पुस /महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिका-१० र ११ का सर्वसाधारणले आफन्तसँग टेलिफाेनमा कुराकानी गर्न बजार धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । महोत्तरीकै अग्लो ठाउँ चनौटेमा नेपाल टेलिकमको नेटवर्कको टावर सञ्चालनमा आएपछि संचारका लागि झन्झट भाेगिरहेका यहाँका स्थानीयलाई राहत भएकाे हाे ।
यसअघि खयरमारा, लक्ष्मी भाङग्रे, झ्याउरे, पिपलदमा, गोर्दी खोला, बाँके, लामीदमार, कालीखोला, छोडके,चनौटे लगायतका ठाउँका टेलिफाेनका लागि पनि बजार जान्थे । ‘हामी निकै खुसी छाैँ,’ स्थानीय इशारा लामाले भनिन् ।
`आफन्तसँग फोन सम्पर्कका लागि खयरमारा बजार र बर्दिबास आउनुपर्ने बाध्यताको अन्त्य भएकाे छ । नयाँ युगको सुरुवात भएको महसुस गरेका छौँ,’´ स्थानीय अर्जुन थापाले भने ।
टावर बनेकाे लामाे समयसम्म सञ्चालनमा नआएपछि पूर्वमन्त्री गिरिराजमणि पोखरेलले अनुगमन गरेका थिए । त्यसपछि उनले नेटवर्क सञ्चालनका लागि टेलिकमसँग पहल गरेका थिए ।


