जिल्ला प्रशासन कार्यालय तेह्रथुमको सेवा एक साताका लागि बन्द
प्रकाश पाक्साँवा/तेह्रथुम,जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ ।
कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीब्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण भएकोले एक साता सेवा स्थगन गरेको जिल्ला प्रशासन तेह्रथुमले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बिहीबार सूचना प्रकाशित गर्दै सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।
मेलम्ची खानेपानी आयोजनामा सम्बन्धित निकायको चासो कम
सिन्धुपाल्चोक, ७ माघ (रासस) :गत बर्खामा आएको गेग्रानसहितको बाढीले पुरिएका संरचना पुनःनिर्माणमा सम्बन्धित निकायले ध्यान नदिँदा मेलम्ची खानेपानी आयोजनामाथिको अन्योल कायमै छ । सरकारले आगामी वैशाखभित्र मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकावासीका धारामा खसाल्ने बताए पनि पुरिएका संरचनाको पुनःनिर्माणमा भने सम्बन्धित निकायको चासो गएको छैन ।
गत असार १ गतेको बाढीका कारण फेरि अनिश्चित बनेको मेलम्ची खानेपानी आयोजना सञ्चालनमा सरकारको ध्यान गएको पाइन्न । दैनिक १७ करोड लिटर पानी काठमाडौँ लैजाने गरी सुरु भएको काम पूर्णरूपमा सम्पन्न नहँुदै गेग्रानभित्र पुरिएको थियो । हेलम्बु गाउँपालिकाले आयोजनाको बाँधस्थलसम्म अस्थायी बाटो निर्माण गरी सञ्चालनमा ल्याए पनि अन्य कुनै काम सुरु हुनसकेको छैन, जसले वैशाखभित्र काठमाडौँका धारामा पुनः पानी खसाल्ने सरकारी योजना पूरा नहुने देखिएको गाउँपालिकाका अध्यक्ष निमाग्यालजेन शेर्पा बताउनुहुन्छ ।
आयोजनाको बाँधस्थलमा १५ मिटर अग्लो गेग्रान थुप्रिएको छ भने पानी नियन्त्रणका लागि बनाइएका संरचना बगरभित्र हराएका छन् । आयोजनाबाट प्रभावित स्थानीय तहसँग अहिलेसम्म समन्वय नभएको र आयोजनास्थलमा कुनै कामको सुरुआत नहुनुले पनि सरकारले तोकेको समयमै पानी काठमाडौँ जान्छ भन्ने विश्वास गर्न सकिने आधार नभएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको भनाइ छ ।
असार १ गतेकै बाढीका कारण मेलम्ची आयोजनाको दोस्रो चरणको याङरी, लार्केको कामसमेत अलपत्र अवस्थामा छ । याङरीखोला थुनिएर आएको बाढीले निर्माणाधीन पक्की पुल, सडकलगायत आयोजनाको मुहानस्थलसम्मको पहुँचमार्ग बगाएको छ भने निर्माण सामग्री बेवारिसे अवस्थामा छन् । याङरीखोलाको बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको याङरी, लार्के खानेपानी स्थानीय सरोकार समितिका अध्यक्ष गोपाल स्याङवो बताउनुहुन्छ ।
रु ३५ अर्बभन्दा बढी लगानीमा आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठमाडौँका धारामा झरे पनि बाढीले क्षति पु¥याएपछि आयोजनाको भविष्य अझै अन्योलमा छ । पाँच वर्षभित्र दोस्रो चरणको याङरी र लार्केखोलाको पानीसमेत सरकारले काठमाडाँै लैजाने बताए पनि कामको शैली हेर्दा विश्वास गर्ने आधार नरहेको बताइन्छ ।


