तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाकाे सेवा स्थगित
खोटाङ, ११ माघ /कर्मचारीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाको नियमित सेवा स्थगित गरिएको छ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि हलेसी तुवाचुङ नगरपालिकाको मंगलबारदेखि १५ माघसम्म र रावाबेँसी गाउँपालिकाको १७ माघसम्म अत्यावश्यकबाहेकका सेवा स्थगित गरेकाे हो । नगरपालिकामा कार्यरत तीन कर्मचारीलाई काेराेना संक्रमण भएपछि ६ दिनका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेकाे हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
स्थानीय एवं गाउँपालिकामा कार्यरत कर्मचारीमा संक्रमण देखिएपछि रावाबेँसी गाउँपालिकाको आन्तरिक प्रकृतिको सेवा र अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद राईले जारी गरेको सूचनामा उल्लेख छ ।
इञ्जिनीयर कुँवरलाई मानार्थ उपाधि
काठमाडौँ, ११ माघ (रासस) ःफ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले नेपालका एक उद्यमी इञ्जिनियर दीपक कुँवरलाई मानार्थ डाक्टर उपाधि प्रदान गरेको छ ।
सो युनिभर्सिटीका ग्लोबल प्रमोटर डा अजय देसाईले मङ्गलबार विज्ञप्तिमार्फत एक कुशल व्यवस्थापकसमेत रहेका कुँवरलाई नेपालका विविध व्यवसायको व्यवस्थापनमा कुशल नेतृत्व प्रदान गरेकाले सो उपाधि प्रदान गरिएको जानकारी दिनुभएको हो । सो विज्ञप्तिमा थाइल्याण्डको राजधानी बंैककमा आगामी फेबु्रअरीमा एक कार्यक्रम गरी सो उपाधि प्रदान गरिने जनाइएको छ ।
नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्धितीय उपाध्यक्ष इञ्जिनियर कुँवर गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माणमा पनि संलग्न हुनुहुन्छ । उहाँ हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष हुनुहुन्छ । उहाँ अध्यक्ष रहेको ल्होत्से बहुउद्देश्यीय प्रालिले गोंगबुस्थित नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्क बनाउने अभियान पनि सञ्चालन गरिरहेको छ ।


