नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौँ, १४ माघ ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।गत मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समितिको बैठक यसअघि दुईपटक सम्पन्न भइसकेको छ भने कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण तेस्रो बैठक भर्चुअल माध्यमबाट हुन लागेको हो ।पार्टीको १४औँ महाधिवेशनमा १३४ पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो भने ३३ सदस्य केन्द्रीय सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । त्यसमध्ये प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले विधानबमोजिम १३ सदस्य मनोनीत गरिसक्नुभएको छ ।
कांग्रेस विधानको दफा २३ अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, पदेन सदस्य हुने व्यवस्था छ । त्यस्तै सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३१ सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्नुहुने छ ।
उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्ने विधानको व्यवस्था छ । संसदीय दलको नेता र केन्द्रीय प्रवक्ता केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन । केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा कम्तीमा एक पटक बस्नेछ ।
कांग्रेसमा हाल सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १३ पदाधिकारी छन् भने कोषाध्यक्ष र प्रवक्ता मनोनीत हुन बाँकी छ । कांग्रेस संसदीय दलको नेता सभापति देउवा नै भएकाले केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय बन्नेछ ।
यो पनि पढ्नुहोस…गलकोट, १४ माघ। बागलुङमा सुविधासम्पन्न होटल थपिँदै गएका छन् । बागलुङमा थपिँदै गएका पर्यटकीय गन्तव्यका कारण पर्यटकको आकर्षण बढिरहेको भए पनि कोरोनाका कारण अहिले समस्या छ । जिल्लामा सुविधासम्पन्न होटल तथा रेष्टुराँ खुल्ने क्रम भने जारी नै रहेको छ ।बागलुङमा पछिल्लो समय होटल रेड एप्पल, होटल दि राजन र सगुन होटल सञ्चालनमा आएसँगै अहिले जिल्लाको प्रवेशद्वार कालिका मन्दिर गेटमा सुविधासम्पन्न ‘भिआइपी पर्यटक’होटल सञ्चालनमा ल्याइएको छ । बागलुङ बजारभन्दा अलि तल शान्त वातावरणमा डिलक्स कोठासहित कालिका मल्टिप्यालेस नामक सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । उन्नाइस वर्षदेखि होटल व्यवसायमा जम्दै आउनुभएका अर्जुन चोखालले बागलुङ कालिका मन्दिर गेटमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याउनुभएको छ । पाँच वर्ष काठमाडौँको ठमेल र १४ वर्षदेखि बागलुङ बजारमा होटल समिट धवलागिरि सञ्चालन गर्दै आउनुभएका चोखालले कालिका मन्दिरमा आउने पाहुना लक्षित गर्दै ३५ बेड क्षमताको कालिका मल्टिप्यालेस सञ्चालनमा ल्याउनुभएको छ ।
विसं २०६५ बाट रु ४२ लाखको लागतमा बागलुङ बजारमा होटल समिट धवलागिरि सञ्चालन गर्दै आउनुभएका चोखालले होटल व्यवसाय फस्टाउँदै गएपछि कालिका मन्दिर गेटमा रु चार करोडको लागतमा कालिका मल्टिप्यालेस नामक होटल हालैदेखि सञ्चालनमा ल्याउनुभएको छ । कोरोना महामारीको समयमा होटल व्यवसायी समस्यामा पर्दै आए पनि दीर्घकालीन साेंचका साथ होटल व्यवसायमा करोडांै लगानी गरेको होटलका सञ्चालक अर्जुन चोखालले बताउनुभयो । चोखालले बागलुङ आएका पर्यटक बास बस्नकै लागि पोखरा पुग्ने अवस्थाको अन्त्य गर्न सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले बागलुङमा स्टार होटलको खाँचो रहेको बताउनुभयो । “होटल व्यवसायमा लागेको १९ वर्षको अनुभवले होटल व्यवसायको सम्पूर्ण आम्दानी होटल व्यवसायमै लागानी थप्दै गएको छु”, उहाँले भन्नुभयो, “ विसं २०७३ मा सञ्चालनमा आएको कालिका मल्टिप्यालेमा बस्ने व्यवस्था थिएन, अहिले ३५ बेड क्षमताको एसी डिलक्स कोठासहितको सेवा थप गरेको छु, मल्टिप्यालेसमा मात्रै रु चार करोड लगानी गरिसकेको छु ।”
देशका विभिन्न स्थानबाट कालिका मन्दिर दर्शन गर्न आउने तर राम्रो होटल नभएको भन्दै पोखरा फर्केर बस्ने परिपाटी रहेकाले मन्दिरको प्रवेशद्वारमा पर्यटक लक्षित गर्दै होटल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका संयोजक तथा बागलुङ पर्यटन विकास समितिका सचिवसमेत रहनुभएका चोखालले कालिका मल्टिप्यालेसले पाहुनालाई सन्तुष्टि दिने गरी होटल सञ्चालनमा ल्याएको बताउनुभयो ।
जिल्लामा रिसोर्ट तथा स्टार होटलको अझै खाँचो रहेको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । खड्काले ढोरपाटनमा सुविधासम्पन्न होटल नभएकै कारण विदेशी पर्यटक हेलिकोप्टर चार्टर्ड गरेर ढोरपाटन आउने जाने गर्ने गरेको बताउनुभयो । ढोरपाटन आएका पर्यटकले समेत ढोरपाटनमा सुविधासम्पन्न होटल नभएको भन्दै हेलिकोप्टर चार्टर्ड गरेर पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेको बताउँदै आएका छन्


