राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिँदै
काठमाडौँ, १७ माघ: सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्ने छन् ।बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्न लागेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ गतेदेखि १६ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली टोली प्रथम भएको थियो । टोलीले राष्ट्रको गौरव बढाएको जनाउँदै सरकारले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गर्न लागेको हो ।
उक्त च्यालेञ्जकपका १२ खेलाडीलाई जनही रु पाँच लाख तथा प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई रु तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई रु दुई लाख प्रदान गर्ने कार्यक्रम छ । टोलीमा खेलाडीहरु अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मि चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु थिए । टोलीमा प्रमुख प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी रहेका थिए ।
मन्त्री श्रेष्ठद्वारा वीर र प्रहरी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौँ, १७ माघ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले वीर अस्पताल र नेपाल प्रहरी अस्पतालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपकरण र स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट मन्त्री श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले वीर अस्पताललाई सघन उपचार कक्ष (आइसियु) ३० शय्या थान र प्रहरी अस्पताललाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गर्नुभएको हो । डा विप्लवमणि पोखरेलले उपलब्ध गराउनुभएको आइसियु शय्या र सर्जिकल मास्क प्रतिष्ठानको तर्फबाट उहाँहरुले प्रदान गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका माओवादी केन्द्रका पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो ।
वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्नका लागि अक्सिजन, भेन्टिलेटर र आइसीयु शय्या उपलब्ध गराउँदा सहज भइरहेको बताउनुभयो । नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले सर्वसाधारणलाई पनि गुणस्तरीय सेवा पु¥याउने अस्पतालको लक्ष्यमा यस्ता सहयोगले थप बल पुग्ने बताउनुभयो । प्रतिष्ठानको तर्फबाट यसअघि भरतपुर अस्पताल चितवन, योगी नरहरीनाथ प्राकृतिक चिकित्सा अस्पताल, धुलीखेल अस्पताल, सामुदायिक अस्पताल ओखलढुङ्गा, जिल्ला अस्पताल पर्वत, जिल्ला अस्पताल बागलुङलगायत आइसीयु शय्या, सर्जिकल मास्क वितरण गरिसकेको छ । डा पोखरेलको पहल कदमीमा चिनियाँ सङ्घसंस्था र सहयोगीका तर्फबाट प्राप्त १५० वटा आइसीयु शय्या सरकारसँग सहकार्य गरी सरकारी र सामुदायिक अस्पतालमा वितरण गरिएको छ ।


