याङमा गाउँको प्रमुख सञ्चारको माध्यम नै रेडियो

दिलकुमार लिम्बू/फुङ्लिङ, १ फागुन (रासस) ः ठावा शेर्पालाई घरमा एक्लै बस्न विरक्त लागेपछि रोडियो सुन्नुहुन्छ । गाउँका सबै याक गोठमा गएपछि गाउँ रुङ्गने एक्लै भएकाले रेडियो नै उहाँको साथी बनेको हो । जीर्णोद्वार गरिएको र काठले छाएको घर निकै वर्ष अगाडिको जस्तो देखिन्छ । थोत्रो घरको छानोमा एउटा अग्लो खम्बा गाडिएको छ तर त्यो रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना राखिएको खम्बा हो ।

यो दृश्य हो ताप्लेजुङको जिल्लाकै उच्च हिमाली तथा पूर्व नेपालको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ को दुर्गमबस्ती याङमाको हो । याङमा गाउँमा ११ घरपरिवार बसोबास गर्दै आए पनि घरमा प्रायः ताल्चा लागेको देखिन्छ । यहाँका समूदायको प्राय याक गोठमै समय बित्छ । अहिले पनि गाउँमा खासै मान्छे भेट्न मुस्किल परे पनि गाउँ रुङग्ने ६६ वर्षका उहाँलाई भने सहजै भेट्न सकिन्छ ।

त्यहाँ मोबाइलको टावर नभएकाले कसैसँग पनि न मोवाइल छ नत टेलिभिजन नै । स्थानीयवासी सबैले रेडियो सुन्न सक्दैनन् तर घरको छानोमा एन्टिनाको तार राख्न सक्नेले मात्र रेडियो नेपाल र केही एक दुईटा रेडियोको फ्रिक्वेन्सी भने सुन्न सक्ने शेर्पाले बतानुभयो । उहाँले भन्नुभयो, “गोठमा गएपछि सबैको घर बन्द छ । मेरा साथी भनेको रेडियो हो ।” उहाँले रेडियोबाटै देश विदेशमा के भइरहेको छ भन्ने खबर प्राप्त गर्ने गरेको जानकारी दिनुभयो

शेर्पाले भन्नुयो,“अगाडि त कोशी एफएम पनि अलीअली टिप्थो तर हिजोआज त्यो पनि टिप्न छोड्यो ।” याङमा क्षेत्रमा एक दुईवटा रेडियोका फ्रिक्वेन्सी सुन्ने बाहेक अन्य सञ्चारमाध्यमका पहँुच पुग्न सकेको छैन् । रेडियो पनि घरको धुरीमा तार राखेर एरियल जोड्नुपर्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताउनुभयो ।

सञ्चारको पहुँच नभएकै कारण कुनै विशेष वा संवेदनशील खबर समयमै नपाउदा समस्यामाथि समस्या हुने गरेको याङ्माका बासिन्दाले बताए । उनीहरुका अनुसार कुनै जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एकदिन पैदल हिँडेर ओलाङ्चुङगोला पुग्नुपर्दछ । त्यहाँ भने करिब एकवर्ष अघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेकाले सञ्चार सम्पर्क गर्न सहज भएको हो । मोबाइलको टावर राख्नुअघि ओलाङ्चुङगोलामा पनि सञ्चारको समस्या उस्तै थियो ।

बर्खा याममा भने याङ्मा–ओलाङ्चुङगोला आवतजावत गर्न सक्ने अवस्था नभएकोे याङ्मावासीले बताए । याङ्मा खोलामा हिउँदमा काठेपुल हालेर आवतजावत गरिन्छ भने बर्खामा पुल बगाउने भएकाले ओलाङ्चुङगोलासँग सम्पर्क टुट्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताउनुभयो । उहाँका अनुसार याङ्मा गाउँदेखि एक÷डेढघण्टा दूरीको डाँडा–डाँडामा नेटवर्क खोज्दै जाँदा कुनैबेला स्काई मोबाइलमा सम्पर्क भए पनि सहजरुपले कुरा गर्न पाईदैन ।

दुर्गम तथा दूरदराजको याङ्मामा थोरै परिवार र पातलो बस्ती भएकाले सञ्चारको पहुँच पु¥याउन तत्काललाई कुनै योजना नभएको गाउँपालिकाले जनाएको छ । ओलाङ्चुङगोलावासीसमेत रहनुभएका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाले याङ्मासम्म सञ्चारको पहुँच विस्तार गर्ने कुनै योजना नरहेको जानकारी दिनुभयो ।

केहीवर्ष अघिसम्म विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा सञ्चालित स्याटेलाइटमार्फत एस्टिएम प्रविधिको टेलिफोन सेवा बिग्रिएपछि हाल याङ्मा सञ्चारको पहुँच बाहिर पुगेको उहाँले बताउनुभयो।
प्रवक्ता शेर्पाका अनुसार याङ्मासम्म कुनै सूचना आदानप्रदान गर्नुपरेमा मानिस नै जानुपर्ने वा चिठीपत्र पठाउनुपर्ने अवस्था छ ।

कुनै पनि सञ्चारमाध्यमका नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयम् मानिसको उपस्थिति वा चिठीपत्रबाहेक अर्को विकल्प नभएको अर्का स्थानीयवासी टासीफिन्जो शेर्पाले शेर्पाले बताउनुभयो ।

याङ्माका बासिन्दाको मुख्य व्यवसाय भनेको परपरागत याक पालन हो । प्रायः याक गोठमै समय बिताउने याङ्मावासीले गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउने वा सुसेल्नु पर्ने हुन्छ ठूलो आवाजमा कराएको र सुसेलेको आवाज सुनेपछि एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको याक गोठाला कान्देग्याबु शेर्पाको भनाइ थियो ।

यसरी स्थानीय शैलीको खबर आदानप्रदानले हालसम्म सञ्चार गर्ने गरिए पनि अहिलेको सूचना र प्रविधिको समयमा पूरै गाउँबस्ती सञ्चारबिहीन अवस्थामा रहनु अन्धकारको संसारमा रहनुसरह भएको कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल (क्यान) जिल्ला अध्यक्ष विष्णुकुमार लिम्बूले बताउनुभयो । तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पु¥याउनका लागि आवश्यक पहल गर्नुपर्ने उहाँको माग थियो । हिमाली बस्ती याङ्मामा हाल १० परिवार बस्दै आएका छन् भने यहाँको जनसङ्ख्या करिब ४० जना रहेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।