सुकेटार विमानस्थल पुनः सञ्चालनमा
फुङ्लिङ, २ फागुन । मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।
मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएकोे नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिनुभयो । विगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौँ पुगेको उहाँ बताउनुभयो ।
विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो । निगमले सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ ।(रासस)
जबराविरुद्धको महाभियोग पारित गर्नलाई ल्याइएको होइन : नेम्वाङ
काठमाडौं, २ फागुन/प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ससंदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाीशविरुद्धको महाभियाेग प्रस्ताव पारित गर्नलाई ल्याइएको नभएको टिप्पणी गरेका छन् ।
न्युज कारखानासँग कुरा गर्दै नेम्वाङले भने,‘यदि पारित गर्न महाभियोग प्रस्ताव ल्याइएको हुन्थ्यो भने प्रतिपक्षसँग छलफल गरिन्थ्यो ।’संसदमा एमालेको मत बिना महाभियोग पारित हुँदैन भनेर थाहा हुँदाहुँदै कुनै सरसल्लाह नगरिकन छापामार शैलीमा ल्याइएकाले आशंका बढाएको उनले बताए ।
सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग प्रस्ताव पारित हुन संसदमा दुई तिहाइ मत आवश्यक पर्ने भए पनि सत्ता गठबन्धनसँग त्यो मत छैन ।
तर, आफूहरूसँग छलफल नै नगरी ल्याइएको महाभियोग प्रस्ताव स्थानीय तहको चुनाव सार्ने षडयन्त्र हुनसक्ने एमालेको प्रारम्भिक आँकलन छ ।सरकारले ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । तर, सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बेखुस छन् ।
यी दुई दलले आगमी कात्तिक वा चैतमा स्थानीय तहको चुनाव हुनुपर्ने बताउँदै आएका थिए । ‘स्थानीय तहको निर्वाचन असंवैधानिक छ, कानुनसम्बत छैन भनेर प्रचण्ड र मावध नेपाल बोलिरहेका थिए । उनीहरूले चुनाव कात्तिक र चैतमा लैजानुपर्छ भनिरहेका थिए,’ नेम्वाङले भने, ‘यही उद्देश्य पूरा गर्न महाभियोग ल्याइएको हामीलाई आशंका छ ।’


