मन्त्री आले-वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ
भैरहवा, ७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ । आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुग्नुभएका उहाँले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभएको हो । मन्त्री आलेले भन्नुभयो, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुनेछ ।” भारतसँग सिधा मार्गको अनुमतिका लागि पहल भइरहेको जानकारी दिँदै उहाँले केही महिना पहिले आफू भारत भ्रमणका गएका बेला त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग सिधा उडान अनुमतिका माग गरेकामा त्यहाँका मन्त्री सकारात्मक देखिनुभएकाले सो समस्या चाँडै समाधान हुने उल्लेख गर्नुभयोे । यो विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाडौँमा एरट्राफिकको समस्या समाधान हुनेमा जोड दिँदै मन्त्री आलेले भन्नुभयो, “भैरहवा नजिकै शान्तिका दूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौँ बौद्धमार्गीका साथै लाखौँ पर्यटक भित्रिनसक्ने सम्भावना छ, त्यसका लागि यो विमानस्थल सञ्चालन हुनु जरुरी छ ।” यो विमानस्थल सुरु भए यहाँका नागरिकले विदेश यात्रामा जानका लागि काठमाडौँ जाने समस्या पनि समाधान हुने उहाँको भनाइ थियो ।
यो पनि पढ्नुहोस्.. कर्णाली । जिल्ला निर्वाचन व्यवस्थापन समिति सुर्खेतले आसन्न स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहने व्यवस्थापन समितिले मतदानस्थलको सुरक्षा संवेदनशीलताको स्तरीकरण गर्नुका साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य थालेको हो ।
प्रमुख जिल्ला अधिकारी एवं समिति संयोजक खगेन्द्रप्रसाद रिजालले मतदानस्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा संवेदनशीलता, जनशक्ति व्यवस्थापनलगायतका विषयमा अध्ययन भइसकेको बताउनुभयो । उहाँका अनुसार सुरक्षाका दृष्टिकोणले सुर्खेतका २९ मतदानस्थल अति संवेदनशील, ७६ संवेदनशील र ३३ मतदानस्थललाई सामान्य मानिएको छ ।
सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षा रणनीति अपनाइने उहाँको भनाइ छ । “मतदानस्थलको स्थलगत अवलोकन गरिसकेका छौँ, सुरक्षा संवेदनशीलताका आधारमा स्तरीकरण गरी केन्द्रमा प्रतिवेदन पनि पठाइसकेका छौँ”, प्रजिअ रिजालले भन्नुभयो, “स्थानीयस्तरमा निर्वाचन कार्यालय खोल्ने विषयमा स्थानीय तहका प्रमुख÷उपप्रमुखसँग समन्वय भइरहेको छ, छिट्टै स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिनेछ ।”सुर्खेतमा नौ स्थानीय तह छन् । तीमध्ये आठ स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिनेछ । जसले स्थानीय तहको निर्वाचन तयारीदेखि सम्पन्न गर्न सहज हुने विश्वास गरिएको छ । २०७४ सालको निर्वाचनमा सुर्खेतका १३८ स्थलमा २७६ मतदान केन्द्र थिए । जिल्ला निर्वाचन व्यवस्थापन समितिले यसपटक केन्द्र थपिन सक्ने सम्भावना रहेको जनाएको छ । यसपटक सुर्खेतमा २२ हजार बढी मतदाता थपिएका छन् । २०७४ सालमा दुई लाख १८ हजार मतदाता थिए ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको कार्यतालिका बमोजिम निर्वाचनको तयारी अघि बढाइएको बताउनुभयो । कार्यालयले सुर्खेतको निर्वाचन व्यवस्थापनका साथै कर्णाली प्रदेशको निर्वाचनको समन्वय गर्नेछ । फागुन १९ गते सबै वडामा मतदाता नामावलीको विवरण पठाइने, त्रुटि सच्याउनुपर्ने भए सच्याउन सकिने र चैत १३ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको समय तोकेको छ । यसैबीच, प्रदेश निर्वाचन कार्यालयले छैँटौँ निर्वाचन दिवसका अवसरमा शुक्रबार आचारसंहिता र निर्वाचन व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेको छ । २०१५ साल फागुन ७ गते मुलुकमा पहिलो आमनिर्वाचन भएको थियो । निर्वाचन आयोगले २०७३ सालदेखि हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । यस वर्ष ‘निर्वाचनमाः सबै, सधैँ, सँगै’ नारा तय गरिएको छ ।


