काभ्रे कांग्रेस सङ्गठन विस्तार अभियानमा
काभ्रेपलाञ्चोक, ८ फागुन । नेपाली कांग्रेस काभ्रेले यही फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडास्तरमा विभिन्न भातृ, शुभेच्छुक समिति गठन गरेको छ । फागुन १ गतेदेखि सञ्चालित सङ्गठन विस्तार अभियानअन्तर्गत महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको जनाइएको छ ।जिल्लाका छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् । एकहप्ते अभियानअन्तर्गत शनिबारसम्म महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको पार्टीका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईँले बताउनुभयो । उहाँका अनुसार करिब ५० प्रतिशत वडा कार्यालय स्थापना गरिएको छ । “करिब ५० प्रतिशत वडामा कार्यालय थिएन, सङ्गठन विस्तारसँगै कार्यालय पनि स्थापना गरेका छौँ, कतिपय स्थानमा अन्य दलबाट कांग्रेस पार्टीमा प्रवेश कार्यक्रम पनि भए”, उहाँले भन्नुभयो ।नवनिर्वाचित कार्यसमितिको गत माघ अन्तिम साता भएको पहिलो बैठकले वडास्तरमा भातृ सङ्गठन विस्तार र सदस्यता वितरण गरिने निर्णय गरेको थियो । पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै गत माघ २९ गते जिल्लास्थित पालिका सभापति र वडा सभापतिका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम सकेर पार्टीले सङ्गठन विस्तार अभियान थालेको हो । पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत गत असोज पहिलो साता वडा अधिवेशन, दोस्रो साता स्थानीय तह अधिवेशन, मङ्सिर पहिलो साता प्रदेश क्षेत्रीय अधिवेशन र दोस्रो साता प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।
यो पनि पढ्नुहोस्.. कर्णाली । जिल्ला निर्वाचन व्यवस्थापन समिति सुर्खेतले आसन्न स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहने व्यवस्थापन समितिले मतदानस्थलको सुरक्षा संवेदनशीलताको स्तरीकरण गर्नुका साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य थालेको हो ।
प्रमुख जिल्ला अधिकारी एवं समिति संयोजक खगेन्द्रप्रसाद रिजालले मतदानस्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा संवेदनशीलता, जनशक्ति व्यवस्थापनलगायतका विषयमा अध्ययन भइसकेको बताउनुभयो । उहाँका अनुसार सुरक्षाका दृष्टिकोणले सुर्खेतका २९ मतदानस्थल अति संवेदनशील, ७६ संवेदनशील र ३३ मतदानस्थललाई सामान्य मानिएको छ ।
सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षा रणनीति अपनाइने उहाँको भनाइ छ । “मतदानस्थलको स्थलगत अवलोकन गरिसकेका छौँ, सुरक्षा संवेदनशीलताका आधारमा स्तरीकरण गरी केन्द्रमा प्रतिवेदन पनि पठाइसकेका छौँ”, प्रजिअ रिजालले भन्नुभयो, “स्थानीयस्तरमा निर्वाचन कार्यालय खोल्ने विषयमा स्थानीय तहका प्रमुख÷उपप्रमुखसँग समन्वय भइरहेको छ, छिट्टै स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिनेछ ।” सुर्खेतमा नौ स्थानीय तह छन् । तीमध्ये आठ स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिनेछ । जसले स्थानीय तहको निर्वाचन तयारीदेखि सम्पन्न गर्न सहज हुने विश्वास गरिएको छ । २०७४ सालको निर्वाचनमा सुर्खेतका १३८ स्थलमा २७६ मतदान केन्द्र थिए । जिल्ला निर्वाचन व्यवस्थापन समितिले यसपटक केन्द्र थपिन सक्ने सम्भावना रहेको जनाएको छ । यसपटक सुर्खेतमा २२ हजार बढी मतदाता थपिएका छन् । २०७४ सालमा दुई लाख १८ हजार मतदाता थिए ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको कार्यतालिका बमोजिम निर्वाचनको तयारी अघि बढाइएको बताउनुभयो । कार्यालयले सुर्खेतको निर्वाचन व्यवस्थापनका साथै कर्णाली प्रदेशको निर्वाचनको समन्वय गर्नेछ । फागुन १९ गते सबै वडामा मतदाता नामावलीको विवरण पठाइने, त्रुटि सच्याउनुपर्ने भए सच्याउन सकिने र चैत १३ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको समय तोकेको छ । यसैबीच, प्रदेश निर्वाचन कार्यालयले छैँटौँ निर्वाचन दिवसका अवसरमा शुक्रबार आचारसंहिता र निर्वाचन व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेको छ । २०१५ साल फागुन ७ गते मुलुकमा पहिलो आमनिर्वाचन भएको थियो । निर्वाचन आयोगले २०७३ सालदेखि हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । यस वर्ष ‘निर्वाचनमाः सबै, सधैँ, सँगै’ नारा तय गरिएको छ ।


