वरिष्ठ नेता पौडेल -एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ
दमौली, १२ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पार्नुभयो ।
“सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ”, उहाँले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गर्नुभयो । “उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ”, उहाँले भन्नुभयो । एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाउनुभयो । “एमसिसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो”, उहाँले भन्नुभयो, “जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ ।”
विपन्न परिवारको सारथी बन्दै स्थानीय सरकार
राझा, १२ फागुन । बाँकेको खजुरा गाउँपालिकाले सुरक्षित आवास बनाइदिएपछि विपन्न तथा मजदुरी गरी जीविकोपार्जन गर्दै आएका सर्वसाधारणको मुहारमा खुसी छाएको छ ।“घर पाइएला भन्ने सोचेका पनि थिएनौँ, पक्की घरमा बस्न पाइयो, दिनभर मजदुरी गरे पनि साँझ आफ्नै घरमा सुत्न पाइने भयो”, गाउँपालिकाले बनाइदिएको घरमा बस्दै आएका प्रेम चौधरीले भन्नुभयो, “अब आफ्नै घरमा बसेर दुःख सुखको जीवन बिताउन पाइने भयो ।”
गाउँपालिकाले बनाइदिएको घरमा बस्दै आएका प्रेमजस्ता १६ परिवारमा सुरक्षित आवास पाएपछि यतिबेला खुसियाली छाएको छ ।
गाउँपालिकाले दुई कोठा, एक भान्छा र एउटा बरन्डा भएको चिटिक्कको घर बनाएर दिएपछि विपन्न परिवारमा खुसियाली छाएको हो । खजुरा गाउँपालिकाले तराई समृद्धि कार्यक्रमअन्तर्गत खजुरा–३ बी बोरिङ गाउँमा विपन्नका लागि सामूहिक आवास बनाइदिएको छ । एक बिघा जमिनमा २१ घर बनेका छन् । सोह« घरपरिवारले घरमा बस्न सुरू गरिसकेका छन् । घरमा बस्नका लागि गाउँपालिकाले पालिकाभित्र रहेका घरविहीन विपन्नको निवेदन माग गरी त्यही निवेदनका आधारमा घरबास नभएका व्यक्तिलाई सामूहिक आवासमा राखेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।
उहाँका अनुसार रु एक करोड ७६ लाखको लागतमा सामूहिक आवासमा २१ घर बनेका हुन् । “घर नभएका विपन्नलाई बसोबासको व्यवस्था मिलाएका छौँ”, अध्यक्ष कक्षपतिले भन्नुभयो, “विपन्न परिवारको सुरक्षा र जीविकोपार्जनका लागि स्थानीय सरकार सारथी बनिरहेको छ ।”पालिकाले बनाइदिएका घर बस्ने व्यक्तिको नाममा नहुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिनुभयो । घरबास उनीहरूको नाममा नभए पनि आफ्नो घरबास नबनाउँदासम्म बस्न दिने र सामूहिक आवासमा बसेका व्यक्तिलाई पालिकाले रोजगारीको अवसर पनि दिने उहाँको भनाइ छ ।गाउँपालिकाले अघिल्लो वर्ष सुकुम्बासीलाई २० घर बनाइदिएको थियो । यसपालि सुकुम्बासीलाई नभई घर नै नभएका व्यक्तिका लागि सामूहिक आवास बनाएको छ । गाउँपालिकामा रहेका घरविहीन मानिसलाई सामूहिक आवासमा राख्ने र उसले सकेसम्म पालिकाभित्र तथा नभए अन्यत्र मजदुरी गरे पनि साँझमा सुरक्षित तरिकाले बस्न पाउने व्यवस्था मिलाइएको छ ।


