ताप्लेजुङका मालपोत अधिकृत १ लाख ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा
फुङ्लिङ, ११ वैशाख । जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । टोलीले महतलाई सोवाग्राहीबाट लिएको रु एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको हो ।
बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट रु एक लाख ५० हजार रकम लिएको अभियोगमा पनेरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
गत साउन महिनाबाट चलाइएको यस प्रक्रियामा सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा आर्थिक लेनदेन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
स्थापितद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा
बागमती, ११ वैशाख (रासस) ःबागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले०का तर्फबाट उम्मेदवार भएपछि उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।
उहाँले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिनुभयो । यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो । उहाँहरु दुवै एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।


