सुनसरीमा छठ पूजा स्थल तोडफोड गरेको आरोपमा दुई युवक पक्राउ
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा रहेको छठ पूजा स्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक २९ गते साँझ ७ः३० बजेको समयमा भक्तजनहरू साँझको छठ पूजा सकेर घर फर्किएपछि अपरिचित व्यक्तिहरूले पूजा स्थलमा तोडफोड गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा हरिनगर गाउँपालिका–६ बस्ने १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार तोडफोडबाट क्षति पुगेको पूजा स्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको छ। प्रहरीले श्रद्धालु भक्तजनलाई निर्धक्क भएर पूजामा सहभागी हुनसमेत अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले घटनाबारे जानकारी दिएका हुन्।


