धरानमा दोस्रो सिटी रनिङ कप मंसिर १२ गतेदेखि सुरु हुँदै, टाइ–सिट सार्वजनिक
हिराराज राई, धनकुटा । धरान सिटी फुटबल क्लब प्रा. लि. को आयोजनामा हुने दोस्रो धरान सिटी रनिङ कप अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता–२०८३ को टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगिता मंसिर १२ गतेदेखि १९ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन हुनेछ।
प्रतियोगितामा धरानका आठ क्लबको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टिमहरूमा स्वर्णिम क्लब धरान–१०, पत्नाली फुटबल क्लब धरान–१७, आयोजक धरान सिटी फुटबल क्लब प्रा. लि. धरान–११, फेयर फुटबल क्लब धरान–१७, यलम्बर फुटबल क्लब धरान–११, प्रगति फुटबल क्लब धरान–१६, टेम्के फुटबल क्लब धरान–१८ र लिब्जु युवा क्लब धरान–६ रहेका छन्।
प्रतियोगिताअन्तर्गत सबै खेलहरू दैनिक दिउँसो ३ बजेदेखि धरान रंगशालामा हुनेछन् भने फाइनल खेल मंसिर १९ गते दिउँसो ३ बजे हुनेछ।
प्रतियोगिताको विजेता टिमले रु. १ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न व्यक्तिगत विधामा समेत पुरस्कार प्रदान गरिने आयोजक बिबेक राईले जानकारी दिएको छ।
धरानमा फुटबलको समृद्ध इतिहासलाई निरन्तरता दिने उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय क्लबहरूबीच प्रतिस्पर्धात्मक खेललाई थप उचाइमा पुर्याउने विश्वास आयोजकको रहेको छ।


