खोटाङको हलेसी तुवाचुङ : नयाँ जनप्रतिधिका नयाँ योजना

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नवनिर्वाचित मेयर बिमला राईले सोमबार पदभार ग्रहण लगत्तै एकल महिला, एकल पुरुष, विधुवा, विधुर, ‘ख, ग र घ’ बर्गको अपांगता भएका नागरिक तथा अभिभावक विहिन बालबालिकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिन् । उपमेयरबाट मेयरमा फड्को मारेकी राईले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका (ग) वर्गको अपांगता भएका रमला राई र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका बिधुर दर्जीमान परियारलाई निःशुल्क स्वास्थ्य बीमाको कार्ड हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिन् । नवीकरणवापत बार्षिक ३ हजार ५०० रुपैयाँ तिरिदिनेगरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको मेयर राई बताउँछिन् ।

मेयर राईले पदभार ग्रहण लगत्तै नगर योजना आयोग गठन, विज्ञ समुहद्धारा नगर स्तरिय सम्पदा तथा संस्कृति संरक्षण परिषद गठन सम्वन्धी अवधारणा विकास गर्ने, ज्येष्ठ नागरिकलाई घरैमा स्वास्थ्य सेवाको प्रवन्ध मिलाउने, नागरिक माथि शासनका लागि प्रशासन होईन, आधुनिक प्रविधि व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह सहित संस्थागत संरचनाको विकास गर्ने, प्राविधिक शिक्षालाई जोड दिँदै केही आधारभुत विद्यालय तहमा अंग्रेजी माध्यमबाट पठन–पाठनको सुरुवात गर्ने, नगरका नागरिकलाई कृषि, पर्यटनमा संलग्न गराउँदै कपास खेती, पशुपालन क्षेत्रमा स्वरोजगार बनाउने योजना अघि सारेकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई र उपमेर बिसन राईले घुम्ने कुर्सी हटाएर काठको कुर्सी राखेर मात्र पदभार ग्रहण गरे ।

यस्तै, ६ जेठमा नयाँ जनप्रतिनिधिका रुपमा पदभार ग्रहण लगत्तै ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जोड्ने दुधकोसी तथा ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल र केपिलासगढी गाउँपालिका जोड्ने रावाखोलामा बेलिब्रिज राख्ने निर्णय गराएका छन् । यस्तै, ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका लाभग्राहीले पाउने सामाजिक सुरक्षाभत्ता बैंकसँगको सहकार्यमा घरदैलोमै पुर्‍याएर वितरण गर्ने व्यवस्थाका लागि कार्यपालिकाबाट अनुमोदन गर्ने निर्णय गरिएको छ ।

साकेला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रबिप्रकाश राईले सोमबार पदभार ग्रहण गर्दै युवालाई सीप सिकाएर स्थानीयस्तरमै आयस्रोत गर्ने खालको व्यापार व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । पालिकाभित्र रहेका आम्दानीका श्रोत पहिचान गरि युवालाई सीप सिकाएर स्वरोजगार बनाउने उनको योजना छ । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लोकेन्द्र राईले आइतबार पदभार ग्रहणका क्रममा पालिकाभित्रका ४८ वटा सामुदायिक विद्यालयको कक्षाकोठालाई धुलोरहित बनाउने निर्णय गरेका छन् । उनले विपन्न र सिमान्तकृत समुदायका लागि राहत प्याकेज कार्यक्रम अघि सारिएको बताए ।

रावाबेँसी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आए लगत्तै गाउँपालिकाको केन्द्र हरमटार कायम गर्ने निर्णय गरिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कायम गरेको केन्द्रलाई नै नवनिर्वाचित जनप्रतिनिधिले पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।

सुरुमा राज्य पुःर्नसंरचनाका क्रममा रावाबेँसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा निर्धारण गरिएको थियो । त्यसपछि २०७४ मा निर्वाचित जनप्रतिनिधिले लामीडाँडा गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको थियो । तर हाल रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटारमा रहेको केन्द्रलाई अन्य सार्नका लागि सर्बोच्चमा रिट दायर भएको अवस्थामा नवनिर्वाचित अध्यक्ष फटिककुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले हरमटारलाई नै केन्द्र कायम गर्ने निर्णय गरेको हो ।

अघिल्लो स्थानीय सरकारको निर्णय अनुसार गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार रहने गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको छ । सुरुमा रावाबेँसी गाउँपालिका–२ खार्पामा राखिएको केन्द्रलाई अघिल्लो स्थानीय सरकारले हरमटार सारेको थियो ।

खोटाङका १० स्थानीय तहले नयाँ नेतृत्व पाएको छ । पदभार ग्रहण लगत्तै नवनिर्वाचित जनप्रतिनिधिबीच नयाँ–नयाँ योजना बाँड्ने होड चलेको देखिएको छ । कतिपय चर्चाका लागि र कतिपयले लागू गर्नका लागि योजना बाँडेको पाइएको छ । नयाँ योजना सार्नेमा वडा पनि अग्रसर देखिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवबिक्रम राईले ‘मेरो एक दिन गाउँलाई’ कार्यक्रम अघि सारेका छन् । सोमबार पदभार ग्रहण गर्दै नवनिर्वाचित वडाध्यक्ष राईले हरेक महिना एक दिन गाउँका लागि योगदान दिनेगरी ‘मेरो एक दिन गाउँलाई’ कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव अघि सारेका हुन् ।

हरेक टोलमा टोल बिकास समिति गठन गर्ने र सो समितिमार्फत महिनामा एक दिन वडाको विकास निर्माण, मर्मत सम्भार, सरसफाई, बृक्षारोपण लगायतका सामाजिक काममा श्रमदान गर्ने÷गराउने परिकल्पना गरिएको वडाध्यक्ष राईले बताए । सोल्मामा ‘हामीले देखेको वडा र सोल्माको संमृद्धि’ कार्यक्रम गर्ने, वडाको नाममा रहेको सवारी साधनलाई मानव तथा पशु स्वास्थ्य उपचारको लागि प्रयोग गर्ने, वडाको शैक्षिक क्षेत्रलाई व्यवहारिक शिक्षाको रुपमा रुपान्तरण गर्दै सोल्मालाई शैक्षिक हवको रुपमा विकास गर्ने, सोल्मा बसपार्कलाई तत्काल सञ्चालनमा ल्याउनुका साथै डिपिआर अनुसार कार्यक्रम अघि बढाउने योजना अघि सारिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।